काठमाडौं । वडा अध्यक्षको संयोजकत्वमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको छ ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य स्वयंसेविका, वडाका महिला सदस्य र अन्य सदस्यसहित ११ सदस्य समिति हुन्छ ।
सो समितिले आफ्नो क्षेत्रमा हुने विपत जोखिम न्यूनीकरण गर्नाका लागि विपतको समयमा एकअर्कामा सहयोग र बच्ने उपायका सम्बन्धमा काम गर्ने छ ।सो बमोजिम अग्नि नियन्त्रण, भूकम्पबाट बच्ने उपाय, ढलको समस्या समाधानका लागि काम गर्नेछ ।
कामपाको सबै वडा कार्यालयले केही समयअघि मात्रै पूर्णता पाएकाले ती समितिहरुले विपतको सामना गर्न तालीम दिइरहेको छ । कामपाका अनुसार उपत्यकाको मुख्य समस्या आगोको रहेकाले ग्यास र विद्युतीय सामग्री प्रयोग गर्दा हुनसक्ने खतराको पनि सम्बन्धित वडाका विपत व्यवस्थापन समितिले नागरिकलाई जानकारी गराइरहेको छ ।
विपतकै समयमा आपतकालिन उद्धारका लागि केही दिनअघि कामपाले उपत्यकाभित्रका अत्यावश्यक (इमर्जेन्सी) सम्पर्क नंबरको पुस्तिका पनि प्रकाशन गरिसकेको छ ।
Categorized in समाज