काठमाडौँ । काठमाडौँ महानगरपालिका ले वडास्तरबाट भू–प्रशासन सेवा सुरु गर्ने तयारी स्वरूप कर्मचारीका लागि क्षमता विकास तालिम सञ्चालन गरेको छ ।
महानगरले वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट भू–प्रशासन सेवा सुरु गर्ने भएपछि प्रत्येक वडाबाट तीन/तीन जना कर्मचारीहरुलाई तालिम प्रदान दिन सुरु गरेको छ ।
महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको संयुक्त आयोजनामा तालिम सुरु गरिएको हो ।
उद्घाटन सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम ले स्थानीय तहबाटै भू–प्रशासन सेवा प्रवाह गर्नु संघीयताको व्यवहारिक कार्यान्वयन भएको बताए ।
यसअघि चारकिल्ला र घरबाटो सिफारिस सेवा वडाबाटै उपलब्ध हुँदै आएको मा अब भूमिको स्वामित्व तथा हक सम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्व सेवा पनि सम्बन्धित वडाबाटै प्रदान गरिनेछ ।
सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन, बैंक रोक्कारफुकुवा सिफारिस, अभिलेख व्यवस्थापन तथा राजस्व संकलनको व्यवस्था पनि वडाबाटै हुने महानगरले जनाएको छ ।
महानगरले नमूना कार्यक्रम सफल भएमा आगामी दिनमा सबै वडाबाट भू–प्रशासन सेवा विस्तार गर्ने जनाएको छ ।
Categorized in पालिका