८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरको १० वटा वडाको अनलाईनवाट राजस्व तिर्न मिल्ने


प्रकाशित: विहिवार, १ असोज २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको १० वटा वडा कार्यलयको राजस्व अनलाईनवाट तिर्न मिल्ने भएको छ । 


बुधवारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई महानगरले अनलाइन प्रणालीमा लगेको छ ।


आगामी हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित वडा २६ बाट सेवा सुरु गरिएको महानगरपालिकाले जनाएको छ । 


महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका थिए ।  


सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताए । 


सार्वजनिक प्रशासन पहिलेको जस्तो होइन । अवको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प भएको अर्यालको भनाई थियो । 


सो अवसरमा सहसचिव राजेश्वर ज्ञवालीले अब प्रविधिविनाको सेवा व्यवस्थापन कल्पना गर्न नसकिने भएकोले महानगरले प्रविधि पूर्वाधारमा लगानी बढाएर सेवा व्यवस्थापन र सुविधा वितरणमा थप काम गर्ने वताए ।

 
वडा २६ का अध्यक्ष एवं सूचना प्रबिधि समितिका सदस्य ख्यामराज तिवारीले, विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गरे । ‘डिजिटल साक्षरताको दर बढ्दै गएको छ । यसकारण सेवाग्राहीले प्रणालीमा सजिलै पहुँच राख्नुहुनेछ । यसले चुस्त सेवा प्रवाहमा ठूलो योगदान हुनेछ ।’ तिवारीको भनाई थियो ।


राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो । 
अब महानगरबासी सबैले आफूले महानगरलाई तिर्नु बुझाउनु पर्ने तिर्न बुझाउन धाएर वडा वा राजस्व बिभागमा पुग्नु पर्र्दैन । 


यसको लागि काठमाडौं महानगरको वेभ पेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपि मा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारकार कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।


प्रणालीका विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा। लि। का अध्यक्ष बसन्त वनका अनुसार सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो ।


अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन । 


यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएकारमाग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । 


यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।


करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन । 


त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD