२९ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरको बजेटः आफनै फार्मेसी खोल्ने देखि टेलिभिजन, अस्पताल, महानगरले देख्छ लगयात (भिडियो)


प्रकाशित: आइतवार, १० असार २०८०, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतवार आ.व. २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ । 


महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा महानगरको आफ्नै अस्पताल, टेलिभिजन, फार्मेसी, स्वच्छा भान्छा लगायतका कार्यक्रममा बजेट विनियोजन गरेको बताएकी छिन । 


महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ । उपप्रमुख डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ ।


त्यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रूपान्तरण गर्ने योजना बजेटमा छ। ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई ३५ करोड रकम विनियोजन गरिएको छ । 


महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन ।


सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । 

 


 

महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।


यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन समेत गरिने छ ।


महानगरपालिकाले आगामी आर्थिक वर्षमा ३०० जना कुचीकार थप गर्ने भएको छ । नगर प्रहरीको दरबन्दी ५०० जना र्पुयाउने भएको छ । 


उपप्रमुख डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिइन । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।


महानगरपालिकाले देशभरका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरिएको जनाएको छ ।


स्वास्थ्य कार्यक्रममार्फत कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।


महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) हटलाइन सञ्चालन गर्न १ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थ्यकर बनाइ आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख डंगोलले जनाइन ।


महानगरले आइतबार २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगर सभामा प्रस्तुत गरेको छ ।


भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD