काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
यो खर्च भने साउनदेखि कात्तिक सम्मको मात्र हो ।
महानगरले यो वर्ष विनियोजन गरेको २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये कात्तिक मसान्तसम्म ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगरको चालु बजेट ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ छ । पहिलो चौमासिकसम्म चालुतर्फ २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ खर्च भएको छ । त्यस्तै पूँजीगत बजेटतर्फ विनियोजित १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँमध्ये १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ मात्र खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।
केन्द्रबाट प्राप्त बजेटतर्फ १४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । वडातर्फ भने खर्च असमान देखिएको छ—सर्वाधिक १९.४१ प्रतिशतदेखि न्यूनतम ०.३८ प्रतिशतसम्म ।
पछिल्ला वर्षहरूमा पहिलो चौमासिकको खर्च दर स्थिरजस्तै रहेको महानगरका तथ्याङ्कले देखाउँछन । आव २०८०/८१ मा १२.९ प्रतिशत, आव २०८१/८२ मा १२.३४ प्रतिशत र चालु आवमा १२.९४ प्रतिशत खर्च भएको छ ।
अघिल्लो आवमा महानगरले विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमध्ये ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ मात्र खर्च गरेको थियो ।
सोमध्ये चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ रुपैयाँ खर्च भएको थियो ।
चालु आवमा वडातर्फ १० वडाले मात्र १० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छन । तीमध्ये वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नं. १६ ले १९.४१ प्रतिशत, वडा नं. १९ ले १६.६९ प्रतिशत, वडा नं. १४ ले १५.८६ प्रतिशत र वडा नं. २७ ले १४.४४ प्रतिशत खर्च गरेका छन ।
त्यसैगरी वडा नं. २ ले १२.८१, वडा नं. ८ ले १०.५३, वडा नं. १० ले १०.८१, वडा नं. २३ ले १२.८४ र वडा नं. २९ ले १०.१४ प्रतिशत खर्च गरेका छन ।
Categorized in पालिका