१० बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको कार्यपालिका बैठकमा पार्किङ व्यवस्थापन लगायत २७ प्रस्ताव पेश


प्रकाशित: सोमवार, २३ चैत २०८२, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक आइतवार सम्पन्न भएको छ । 


बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा समावेश गरिएको थियो । 


महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी विकास तथा व्यवस्थापनका विषयमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाबीच समन्वय र सहकार्यको वातावरण सहज बन्दै गएको बताउनुभयो । 


बैठकमा उहाँले महानगरका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री, सहरी विकास तथा व्यवस्थापनका विज्ञ सस्मित पोखरेल शिक्षा मन्त्री र सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकोमा बधाई व्यक्त गर्दै स्थानीय सरकार बुझेका व्यक्तित्वहरू सरकारको नेतृत्व तहमा पुग्नु काठमाडौँका लागि अवसर भएको बताउनुभयो ।


बैठकका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ४७ औँ कार्यपालिका बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनुभएको थियो ।


प्रवक्ता नविन मानन्धरले कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको इन्धन खर्च कटौती गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।


अत्यावश्यक बाहेकका सवारी साधनमा इन्धन खर्च घटाउने तथा महँगी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने प्रस्ताव बैठकले पारित गरेको छ ।

 
कार्यवाहक प्रमुख डंगोलले भूराजनीतिक कारण इन्धन आपूर्ति प्रभावित भएकाले इन्धन प्रयोग घटाउँदै विद्युतीय सवारी साधनको प्रयोग बढाउने निर्णय कार्यान्वयन गरिने बताउनुभयो । 


भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले काठमाडौं प्लाजाको भोगाधिकार महानगरलाई उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने प्रस्ताव पेश गर्नुभयो ।


साथै, बहुउद्देश्यीय भवन निर्माणका लागि भृकुटीमण्डपको भोगाधिकार प्राप्त गर्ने र राष्ट्रिय सभा गृह पुनःनिर्माण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । यससम्बन्धी समन्वयको जिम्मेवारी तण्डुकारलाई दिइएको छ ।
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले वडा स्तरमा सरसफाइका लागि कर्मचारी अभाव समाधान गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले पार्किङ व्यवस्थापनको अध्ययन आवश्यक रहेको सुझाव दिनुभयो ।


वडा नं. ६ का अध्यक्ष भुवन लामाले एम्बुलेन्स सञ्चालन व्यवस्थापन सम्बन्धी कानुन तर्जुमा गर्नुपर्ने बताउनुभयो । 


वित्त समितिका संयोजक इश्वरमान डंगोलले स्वास्थ्य प्रवर्धन केन्द्रमा बिहान ८ बजेदेखि प्रयोगशाला सेवा सञ्चालनका लागि भुक्तानी प्रणाली लागू गर्नुपर्ने धारणा राख्नुभयो ।


यसैगरी सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., वडा नं.२७ का अध्यक्ष योगेश खड्गी, वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठ, वडा नं. ३१ का अध्यक्ष सरोज ढकाल, कार्यपालिका सदस्य बिनोद अछामी तथा वडा नं। ७ का अध्यक्ष विमलकुमार होडालगायतले विभिन्न विषयमा धारणा राख्नुभएको थियो । 


दुई कार्यविधि स्वीकृत, थप कानुन तर्जुमा गर्ने निर्णय


बैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरेको छ।


त्यस्तै श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।


यसैगरी कार्यस्थलमा हुने लैङ्गिक हिंसाविरुद्धको कानुनसहित ८ वटा नयाँ कार्यविधि तर्जुमा गर्न तथा अस्थायी संरक्षण गृह सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्न पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex