काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित तीनजनामाथि भ्रष्टाचार मुद्दामा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बुधबार परियारसँग २५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। उनले धरौटी बुझाइसकेका छन् ।
विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार उनीसँगै एउटै मुद्दामा संलग्न बसन्त आचार्य र नमराज ढकालसँग भने जनही ५०/५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
४ करोडभन्दा बढीको बिगो माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २८ गते परियारसहित ७ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकको रूपमा कार्यरत थिए। तर, मुद्दा दायर भएलगत्तै उनी निलम्बनमा परेका छन् ।
अभियोग अनुसार, बसुन्धरादेखि म्हेँपी (सामाखुसी करिडोर) सम्मको ढल निर्माणको ठेक्कामा कम मूल्यमा प्रस्ताव राख्ने ठेकेदार कम्पनीलाई अस्वीकार गर्दै, उच्च मूल्यमा प्रस्ताव गर्ने कल्पवृक्ष–कोहिनुर जेभी कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो। यसमार्फत ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको आर्थिक हानी पुर्याएको अभियोग लागेको हो ।
Categorized in पालिका