१३ श्रावण २०८३, बुधबार
Header

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


प्रकाशित: बुधवार, २८ जेठ २०८२, १६ः०० बजे
- महानगरखवर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


आयोगले बुधबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरूमाथि करिब ४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।


कम अंक कबोल गर्ने समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँबराबरको बोलपत्र पेस गरेकोमा महानगरका तत्कालीन कर्मचारीहरुले बढी अंक कबोल गर्ने कल्पवृक्ष कोहीनूरलाई २२ करोड ४० लाख ९४ हजार ६१२ प्रस्तावमा सम्झौता गरेकोमा बढी अंक कबोल गरिएको रकमलाई बिगो कायम गरी अख्तियार मुद्दा दायर गरेको हो ।


मुद्दा दायर गरिएका अन्य अभियुक्तहरूमा काठमाडौं महानगरपालिकाका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, र इन्जिनियर जनार्दन गिरी रहेका छन। 


ठेक्कामा अनियमितता


उनीहरूविरुद्ध बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण (सामाखुसी करिडोर) को ठेक्का प्रक्रियामा अनियमितता गरी बढी मूल्यमा निर्माणको जिम्मा दिइएको आरोप छ।


उक्त ठेक्काका लागि समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष–कोहिनुर जेभी नामक कम्पनीहरूले प्रस्ताव पेस गरेका थिए। समानान्तरले कम मूल्यमा बोलकबोल पेश गरे पनि, ठेक्का बढी मूल्यमा बोलकबोल गर्ने कल्पवृक्ष–कोहिनुर जेभीलाई दिइएको अख्तियारको दाबी छ ।


यस प्रकरणमा ठेक्का प्रक्रिया अवैध ढंगले अघि बढाइएको तथा नियमनकारी प्रक्रिया उल्लंघन गरी सार्वजनिक स्रोतको दुरुपयोग भएको भन्दै आयोगमा उजुरी परेको थियो।


थप अनुसन्धान हुँदै


अख्तियारले सो प्रकरणमा थप अनुसन्धान जारी रहेको बताएको छ। सार्वजनिक निर्माणका ठेक्कामा पारदर्शिता कायम गर्न सम्बन्धित निकायहरूलाई यसले सन्देश दिने विश्वास गरिएको छ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex