काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी तथा खोलाको माटो झिकेर दणिकालीमा मैदान बनाउने सभ्झौता गरेको छ ।
आइतवार महानगरको ३७ औं नगर कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले नदी तथा खोलाको माटो झिकेर दक्षिणकालीमा मैदान बनाउने सम्झौता गरेको जानकारी दिए ।
प्रमुख बालेनले महानगरभित्र खोला किनारा सफा गर्दा निस्कने माटो तथा बालुवा दक्षिणकाली नगरपालिकामा स्तान्तरण गरी त्यहाँ मैदान बनाउने सम्झौता भएको उल्लेख गरे ।
दक्षिणकालीस्थित एक ठाउँमा खाल्डो जस्तो रहेको हुँदा काठमाडौं महानगरका खोलामा जम्मा भएको माटो र बालुवा त्यहाँ लगेर राख्ने सहमति भएको उनले बताए । त्यो भरिँदै गएपछि त्यहाँ मैदान बन्न सक्ने सम्भावना देखिएको उनको भनाइ छ।
कार्यपालिका बैठकमा वडा नम्बर १४ का वडाध्यक्ष सुमन श्रेष्ठले केही समयअघिको बाढीले खोला किनाराका क्षेत्रका पर्खालमा क्षति पुराएको बारे ध्यानाकर्षण गराए लगत्तै प्रमुख साहले सो सम्झौता बारे बताएका थिए ।
खोलाबाट निकालेका वस्तु बिक्री गर्न नमिल्ने तर स्थानान्तरण गर्न पाउने प्रावधान रहेकोले दक्षिणकालीसँग उक्त सम्झौता गर्नु परेको मेयर शाहको भनाइ छ ।
Categorized in स्थानिय