४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं प्रशासनले निषेधित क्षेत्र बढाउँदै, प्रधानमन्त्री र शितल निवास पनि 


प्रकाशित: बुधवार, ६ मंसिर २०८०, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र बढाउन थालेको छ । 


काठमाडौं प्रशासनले राष्ट्रपति कार्यालय शितल निवास र प्रधानमन्त्री निवास आसपासको क्षेत्र पनि निषेधित क्षेत्र घोषणा गरेको छ । 


मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन । 


प्रशानले गरेको जारी आदेश अनुसार शितल निवासको पूर्व पवित्र वर्कशपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।


हरित गृह उपराष्ट्रपति कार्यालय नजिक रहेको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटल सिमानासम्म निषेध छ ।


त्यसैगरी, प्रधानमन्त्री निवासको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म कुनै पनि प्रकारको सभा, जुलुस, ¥याली निषेध गरिएको हो । 


संसद भवन नयाँ बानेश्वरको चारैतर्फको सडकसम्म र यातायात व्यवस्था विभागदेखि पूर्वतर्फ मीनभवन चोकसम्म पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।


सिंहदरबाका आसपासका क्षेत्रहरु भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्यान्डको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्मको क्षेत्र निषेधित गरिएको छ । 


महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट पूर्वी गेठ हुँदै हनुमानस्थान मन्दिरसम्म पनि प्रदर्शन गर्न रोक लगाइएको छ ।

 
पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डल, माइतीघरदेखि हनुमानस्थान मन्दिरसम्म र बबरमहल जिल्ला अदालतको मोडको प्रवेशदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म निषेध गरिएको छ ।


यस अघि सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए ।


प्रशासनले मंसिर ७ गते माइतीघर मण्डलमा हुन लागेको व्यवसायी दुुर्गा प्रसाईं र युवा संघले माईतीघर मण्डलमा एकै दिन गर्न लागेको प्रदर्शनबाट हुन सक्ने शान्ति सुरक्षाको जोखिमलाई ध्यानमा राखेर सो क्षेत्र निषेधित गरेको थियो । 


प्रशासनले सो क्षेत्र निषेधित गरेपछि युवा संघले तीनकुनेमा र दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex