काठमाडौं । महिलाको स्वास्थ्य, फिटनेस तथा स्तन क्यान्सरजस्ता विषयमा जागरण फैलाउने उद्देश्यका साथ ‘काठमाडौं पिंक केयरथन हुन’ आयोजना हुने भएको छ ।
लेजर पोर्ट नेपालको आयोजनामा फागुन ३० गते जाउलाखेलको फुटवल ग्राउण्डमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महिलालाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ आयोजना गरिने यस केयरथनमा दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप तथा विभिन्न स्वास्थ्यसम्बन्धी क्रियाकलाप समावेश गरिनेछ ।
सबै उमेर समूहका महिलाहरू सहभागी हुन सक्ने गरी तयार पारिएको कार्यक्रममा यस वर्षदेखि पुरुषहरूलाई पनि सहभागिताको अवसर दिइएको छ ।
कार्यक्रमका आयोजक तथा लेजर पोर्ट नेपालका अध्यक्ष नवराज जोशीका अनुसार दैनिक घरेलु तथा सामाजिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउँदै समय निकाल्न उत्प्रेरित गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो ।
यस वर्ष ३ देखि ५ हजारसम्म महिला तथा पुरुषको सहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रममा नेपाली अभिनेत्री उषा रजकलाई गुडविल एम्बासडर नियुक्त गरिएको छ ।
यसअघि ‘काठमाडौं पिंकथन’ नामले सञ्चालन हुँदै आएको कार्यक्रमलाई यसपटक नेपाली मौलिकता झल्काउने गरी ‘काठमाडौं पिंक केयरथन’ नामकरण गरिएको आयोजकले बताएका छन ।
लेजर पोर्ट नेपालले सन २०१७ देखि २०१९ सम्म लगातार कार्यक्रम आयोजना गरेको थियो। कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको कार्यक्रम २०२४ देखि पुनः निरन्तरता दिइएको हो ।
हाफ म्याराथनतर्फ विजेताले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने १० किलोमिटर दौडका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ प्रदान गरिनेछ। अन्य विभिन्न विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएका छन ।
Categorized in मनोरन्जन