काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित एक निर्माणाधीन भवनमा लिफ्ट मर्मतका क्रममा खस्दा दुई कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका अन्दाजी २० वर्षीय विशाल चौधरी रहेका छन् । उनीहरूको सनाखत जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले पुष्टि गरेका हुन् ।
एसपी बोहराका अनुसार सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले निर्माण गरिरहेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन ।
लिफ्टमा ग्रिज लगाउने क्रममा प्रयोग गरिएको फलामको सिक्री अचानक चुँडिएपछि उनीहरू भुइँमा खसेका थिए ।
घाइते अवस्थामा तत्कालै उद्धार गरी वीर अस्पताल पुर्याइए पनि चिकित्सकले अपराह्न सवा ५ बजे दुबै जनालाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज