काठमाडौं । काठमाडौं टावरको निर्माण कार्यलाई उच्च अदालत पाटनले निरन्तरता दिन आदेश दिएको छ ।
जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम रोकिएको भन्दै दायर गरेको रिटमा अदालतले सोमबार अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘२०७२ भदौ ६ गते र २०८१ असोज २८ गते महानगरपालिकाले दिएको अनुमति यथावत रहेकाले सम्झौता अनुसार भवन निर्माण कार्य निरन्तरता दिनु वाञ्छनीय देखिन्छ ।’
यसअघि, महानगरले प्रमुख प्रशासकीय अधिकृतसँगको विवाद देखाउँदै २०८१ माघ ९ गते कम्पनीलाई काम नगर्न पत्र पठाएको थियो । अदालतले सो पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।
महानगर र कम्पनीबीच २०७१ फागुन २२ मा व्यावसायिक भवन निर्माणका लागि सम्झौता भएको थियो ।
सुरुमा भूमिगत २ तला सहित १२ तले भवन बनाउन नक्सा पास गरिए पनि पछि १९ तलासम्म अनुमति दिइएको थियो ।
कम्पनीले सो अनुसार २ करोड ३० लाख रुपैयाँभन्दा बढी दस्तुर दाखिल गराएको थियो।
Categorized in पालिका