काठमाडौं । नेपालमा सक्रिय मनसुन प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक सर्ने क्रम बढेसँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने साना नदीहरूको बहाव एक्कासि बढ्न सक्ने सम्भावना रहेको छ ।
विशेषगरी ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा बग्ने नदी–नालामा आकस्मिक बाढी आउने सम्भावनाबारे चेतावनी दिइएको छ ।
त्यस्तै, इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत पनि बाढीको मध्यम जोखिममा परेका जिल्ला हुन ।
लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला जिल्लामा पनि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दा, स्थानीय प्रशासन र सरोकारवालालाई आवश्यक सावधानी अपनाउन, नदी किनार तथा जलप्रवाह नजिक नजान र सम्भावित बाढीबारे नियमित जानकारी लिन सुझाव दिएको छ ।
Categorized in राष्ट्रिय