काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्तालाईखाना पकाउने एलपी ग्यास उपलब्ध गराउन असोज २५ गते आइतबारदेखि ६ स्थानमा विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेरको व्यवस्था गरिने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गतेदेखि ३१ गते शनिबारसम्म दैनिक बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म उक्त सेवा सञ्चालन हुनेछ ।
संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
जसअनुसार काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास उपलब्ध हुनेछन ।
पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा सिलिन्डर साटफेर गरिनेछ ।
त्यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध हुने संघले जनाएको छ । उपभोक्ताले सम्बन्धित बिक्री केन्द्रमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन ।
संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको छ । गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो ।
उपत्यकामा ग्यासको आपूर्ति सहज रहे पनि नजिकिँदो चाडपर्वका समयमा केही उपभोक्ताले सहजै ग्यास नपाएको र फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न नपाउँदा समस्या भएको गुनासो गरेका थिए ।
उपभोक्ताका यस्ता समस्यालाई सम्बोधन गर्न विशेष बिक्री तथा साटफेरको व्यवस्था गरिएको संघका अध्यक्ष दिवान चन्दले बताए ।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गर्न लागिएको हो ।
संघले तोकेका विशेष बिक्री केन्द्रहरूमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गर्न पाइने स्पष्ट पारेको छ । तोकिएका केन्द्रबाहेक अन्य स्थानमा भने यस्तो सुविधा उपलब्ध नहुने संघले जनाएको छ।
Categorized in बजार