काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गरेको छ ।
पछिल्लो मत परिणाम अनुसार काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले पुराना दलहरूलाई निकै पछि पार्दै आफ्नो पकड बलियो बनाएका छन ।
राजु नाथ पाण्डे र कुलमान घिसिङबीचको रोचक प्रतिस्पर्धा
काठमाडौं क्षेत्र नं. ३ रास्वपाका राजु नाथ पाण्डे ९,०२३ मतका साथ शीर्ष स्थानमा छन्। उनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ५,३८७ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्याल (३,२१६)भने यो दौडमा निकै पछाडि देखिएका छन्।
काठमाडौं–४ मा पुकार बमको फराकिलो अग्रता
सबैभन्दा बढी चासोका साथ हेरिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बम ९,८२१ मतसहित शीर्ष स्थानमा छन ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सचिन तिमिल्सेनाले २,७४४ मत प्राप्त गरेका छन भने नेकपा एमालेका राजन भट्टराई २,३२७ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन । बम र तिमिल्सेनाबीचको मतान्तर ७ हजारभन्दा बढी पुगिसकेको छ ।
क्षेत्र नं. ८ मा विराज भक्तको दबदबा
काठमाडौं–८ मा रास्वपाका विराज भक्त श्रेष्ठले भारी मतका साथ अग्रता लिइरहेका छन ।
उनले १६,५३०मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुमन सायमीले २,१६६ मत मात्र पाएका छन । त्यस्तै, कांग्रेसकी सपना राजभण्डारीले १,८८८ र एमालेका राजेश शाक्यले १,२६४मत ल्याएका छन ।
क्षेत्र नं. ७ मा गणेश पराजुली अगाडि
काठमाडौं.७ मा पनि रास्वपाकै गणेश पराजुली १०,२७३ मतका साथ अगाडि छन ।
यहाँ एमालेका प्रकाश श्रेष्ठ १,६७२ मतसहित दोस्रो स्थानमा छन् भने नेकपाका बसन्त प्रसाद मानन्धरले १,३८९ र कांग्रेसका प्रमोद हरि गुरागाईंले १,३७५ मत प्राप्त गरेका छन ।
क्षेत्र नं. ५,६,९ मा पनि रास्वपाकै लहर
काठमाडौं– ५ मा रास्वपाकी सस्मिता पोखरेल ११,४३३ मतसहित सुरक्षित अग्रतामा छिन ।
उनलाई कांग्रेसका प्रदिप पौडेलले ३,५५६ मतका साथ पछ्याइरहेका छन भने एमालेका ईश्वर पोखरेल १,९०८ मतमा सीमित छन ।
त्यसैगरी, काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल १०,६१५ मतसहित अगाडि छन । उनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण सबुज बानियाँले २,७७५ र एमालेका अमन मास्केले १,६१२ मत पाएका छन । काठमाडौं क्षेत्र नम्बर ९ मा रास्वपाका डोल प्रसाद (डिपी) अर्याल ५,५५९ मतसहित अगाडि छन्। यहाँ नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले १,११६ र एमालेका अजय क्रान्ति शाक्यले ९७० मत मात्र प्राप्त गरेका छन्।
ललितपुर–३ मा तोसिमा कार्कीको सानदार सुरुवात
ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपाकी तोसिमा कार्कीले ६,९७२ मतसहित आफ्नो अग्रतालाई सुरक्षित बनाएकी छन । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १,२७३ मत मात्र प्राप्त गरेका छन ।
कार्की र श्रेष्ठबीचको मतान्तर ५ हजारभन्दा बढी पुगिसकेको छ, जसले गर्दा यहाँ रास्वपाको स्थिति निकै बलियो देखिएको छ ।
ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणा ४,३९६ मतका साथ अग्रस्थानमा छन्। उनलाई बुद्धरत्न महर्जनले २,९६५ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेका चेतनाथ संजेल २,५६६ मतमा सीमित छन्। उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ६३५ मत पाएका छन्।
भक्तपुर–१ मा पनि रास्वपाकै लहर, नेमकिपा दोस्रोमा
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा पनि यसपटक रास्वपाले अप्रत्याशित अग्रता लिएको छ ।
रास्वपाका रुकेश रञ्जित ६,६७२ मतसहित पहिलो स्थानमा छन । उनलाई नेमकिपाका प्रेम सुवालले ३,४६३ मतका साथ पछ्याइरहेका छन । त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपाने १,१३२ मतका साथ तेस्रो स्थानमा रहेका छन ।
भक्तपुर–२ मा राजीव खत्रीको अग्रता, महेश बस्नेत पछि
भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्री ७,००२ मतसहित पहिलो स्थानमा छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले २,५३८ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १,१५८ मतका साथ तेस्रो स्थानमा छन्। खत्री र बस्नेतबीचको मतान्तर ४ हजारभन्दा बढी पुगिसकेको छ।
Categorized in राष्ट्रिय