काठमाडौं । काठमाडौं उपत्यकामा अत्यधिक सवारी दुर्घटना हुने स्थानहरूको पहिचान गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपाथले पछिल्ला वर्षहरूको दुर्घटना तथ्यांकका आधारमा २९ स्थानलाई ‘ब्ल्याक स्पट’ को रूपमा सूचीकृत गरी प्राथमिकतासाथ सुधारको योजना अघि बढाएको हो ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार अत्यधिक दुर्घटना हुने क्षेत्र पहिचान गरी संरचनागत कमजोरी सुधार, जनचेतना अभिवृद्धि र कडा अनुगमनमार्फत दुर्घटना घटाउने लक्ष्य राखिएको छ । यसै उद्देश्यसहित ‘ट्राफिक सप्ताह–२०८२’ आज शुक्रबारबाट सुरु गरिएको हो, जसको समापन २ माघमा हुने बताइएको छ ।
ट्राफिकको तथ्यांकअनुसार कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्ठाघर र बौद्ध वरपरका मार्ग अत्यधिक जोखिमयुक्त रहेका छन ।
ती क्षेत्रमा कोटेश्वर–बालकुमारी, काटेश्वर–जडीबुटी, ग्वार्को–सातदोबाटो, सल्लाघारी–चारदोबाटो, माछापोखरी–सामाखुसी, माइतीघर–बिजुलीबजार पुल, गट्ठाघर–लोकन्थली लगायतका खण्डमा ठूलो संख्यामा दुर्घटना दर्ता भएको छ ।
रामशाहपथका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको अन्तरिम तथ्यांकले पनि पहिचान गरिएका ‘ब्ल्याक स्पट’हरूमा दुर्घटना दोहोरिनेजस्ता घटना उच्च रहेको देखिन्छ ।
ट्राफिक सप्ताहको अवधिमा रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र प्रदर्शन, राइड–सेयर एप चालकका लागि अभिमुखीकरण कार्यक्रम, सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य समेटिएको छ ।
एसएसपी अधिकारीले विविध कारणले हुने दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण ट्राफिक प्रहरीको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै “जनचेतना, प्रविधि र पूर्वाधार सुधारको संयोजनले दुर्घटना घटाउन मद्दत गर्छ” भने ।
Categorized in समाज