७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारद्वारा ‘भिजन–१०’ सार्वजनिक


प्रकाशित: विहिवार, १४ फागुन २०८२, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका उपत्यकाका उम्मेदवारहरूले ‘भिजन–१०’ नामक एकीकृत विकास प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।


बिहीबार आयोजित कार्यक्रममा पार्टी महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको भर्चुअल सहभागितासहित प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।


प्रतिबद्धता पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रूपमा समेट्दै स्थानविशेषका मौलिक विशेषतालाई संरक्षण गरी एकीकृत सहरी विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । 


उपत्यकालाई विश्वकै सफा, सुन्दर, आधुनिक, सुशासित र जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्य दस्तावेजमा राखिएको छ ।


उपत्यकाको वहन क्षमता अनुसार सहर व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सुदृढ र सक्षम बनाइने प्रतिबद्धता जनाइएको छ ।


यातायात व्यवस्थापनतर्फ एकीकृत सहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार विकास गरिने, पैदलयात्री र साइकल यात्रीमैत्री ‘वाकेबल सिटी’ अवधारणा लागू गरिने उल्लेख छ ।

 
प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्ने तथा सार्वजनिक र पुरातात्त्विक सम्पदाको संरक्षणका लागि साझा योजना कार्यान्वयन गर्ने योजना पनि समेटिएको छ ।


नदी संरक्षण, शुद्धीकरण र सौन्दर्यीकरणका साथै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरूको संरक्षण गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गरिने जनाइएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री, सर्वसुलभ र गुणस्तरीय बनाउँदै समग्र सेवा प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता पनि दस्तावेजमा उल्लेख छ ।


त्यसैगरी, एकीकृत भू–उपयोग नीति, भवन संहिता, ढल व्यवस्थापनसहित पुनरुत्थान गुरुयोजना कार्यान्वयन गर्ने तथा विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी प्रणालीसहित कमाण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ । 


रोजगारी सिर्जना, डिजिटल तथा आइटी क्षेत्रसँग सम्बन्धित उद्यम प्रवद्र्धन, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।


खानेपानी समस्याको दिगो समाधानका लागि आगामी ५० वर्षको जनसंख्या प्रक्षेपणलाई ध्यानमा राखेर जलभण्डारण र भू–जल पुनर्भरण योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा महामन्त्री पौडेलले उपत्यकाको दिगो विकास कांग्रेसको प्राथमिकतामा रहेको उल्लेख गर्दै सामूहिक प्रयासमार्फत एकीकृत विकास सम्भव हुने बताए । 


उनले प्रतिबद्धता पत्रले भावी दिनमा उपत्यकाको समन्वित विकासका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।


हेरौं प्रतिवद्धता पत्रः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex