७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– १२ वडाका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिने


प्रकाशित: विहिवार, ७ जेठ २०८३, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १२ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुराएका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ । 


वडाले बिहीबार पत्रकार सम्मेलन गर्दै २०८३ सालको सम्मान कार्यक्रमबारे जानकारी गराएको हो ।


वडा कार्यालयका अनुसार २०८१ सालमा ६७ जना विशिष्ट व्यक्तित्व र १२ वडाका २५ जना खेलकुद, कला, नृत्य तथा संगीत क्षेत्रका प्रतिभाहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी २०८२ सालमा पनि १६३ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको जानकारी दिइएको छ ।


वडाले यस वर्ष पनि एमबीबीएस डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, रजिष्टर्ड अडिटर, पाइलट, विद्यालय तथा कलेजका प्रधानाध्यापक र प्रिन्सिपल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्ने जनाएको छ ।


सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले आफ्नो शैक्षिक प्रमाणपत्र, नवीकरण भएको पेशागत इजाजतपत्र वा नियुक्तिपत्र, पुरस्कार प्राप्त प्रमाणपत्र, नागरिकता वा मतदाता परिचयपत्र तथा बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपिसहित व्यक्तिगत फाराम भर्नुपर्ने वडा कार्यालयले जनाएको छ ।


जानकारी अनुसार आवश्यक कागजातहरू २०८३ जेठ २५ गतेदेखि असार ११ गतेसम्म वडा कार्यालयमा बुझाउन सकिनेछ । वडा कार्यालय खुला रहेको समयमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म कागजात संकलन गरिने जनाइएको छ ।


वडा अध्यक्ष बालकृष्ण महर्जनको अध्यक्षतामा गठन गरिएको पाँच सदस्यीय सम्मान छनोट समितिले प्राप्त कागजातहरूको मूल्यांकन गरी सम्मानका लागि व्यक्तित्व छनोट गर्नेछ । 


समितिमा ज्ञानीबाबु सिंह संयोजक तथा सदस्यहरूमा प्रचण्डमान बज्राचार्य, राजा डंगोल, तीर्थ नारायण महर्जन र हरि गोविन्द रञ्जितकार रहेका छन ।


सो अवसरमा वडा अध्यक्ष महर्जनले कार्यक्रमको मुख्य उदेश्य वडाको गौरव बढाउनेहरुको योगदानको उच्च मुल्यांकन गरिने हो । 


सम्मान कार्यक्रम २०८३ जेठ २२ गते आयोजना गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।


यसैविच काठमाडौं महानगरपालिका वडा नं. १२ को सहयोगमा “प्रथम काठमाडौं महानगरपालिका वडा कप क्युताई (फुलकन्ट्याक्ट कराते) प्रतियोगिता २०८३” आयोजना हुने भएको छ ।


नेपाल राष्ट्रिय ज्युताईदो संघको आयोजनामा जेठ ९ र १० गते प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।


आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिता काठमाडौं महानगरपालिका वडा नं. १२ को पूर्ण सहयोग र सहकार्यमा सञ्चालन हुनेछ । 


प्रतियोगितामा काठमाडौं महानगरपालिकाका विभिन्न वडाबाट करिब २०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।


प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि र ५५ केजीमाथि गरी विभिन्न तौल समूह समावेश गरिएको छ । महिलातर्फ ४५ केजीमुनि, ५५ केजीमुनि र ५५ केजीमाथि गरी प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।


विजेता खेलाडीहरूलाई प्रमाणपत्र, शिल्ड, मेडल तथा आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । 


प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र उक्त रकम वडा नं. १२ बाट सहयोग प्राप्त हुने बताइएको छ ।


नेपाल राष्ट्रिय ज्युताईदो संघले २०७८ सालदेखि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर विभिन्न तालिम, सेमिनार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको जनाएको छ । 


खेलकुदको विकास र विस्तारमा प्रतियोगिताले सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex