काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० देवीनगर (धोबीखोला करिडोर) स्थित सार्वजनिक जग्गामा स्पोट्र्स पार्क निर्माणको शिलान्यास गरिएको छ ।
वडा १० का अध्यक्ष तथा महानगरको सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी.ले मंगलबार पार्कको शिलान्यास गर्दै यस्तो पूर्वाधारले स्थानीयस्तरमा सामाजिक गतिविधि थप सशक्त हुने बताए ।
पार्क निर्माणका लागि छुट्टिएको क्षेत्रफल करिब ५ रोपनी १० आना २ पैसा (२,८८० वर्गमिटर) रहेको छ ।
उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले सञ्चालन गर्ने यस परियोजनाका लागि १२ निर्माण कम्पनीले बोलपत्र दिएका थिए । तीमध्ये हान्स–चपुर संयुक्त संस्था छनोट भएको हो ।
२ करोड ८१ लाख ४० हजार रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणको कार्यादेश कार्तिक १८ मा जारी गरिएको हो ।
भ्याट तथा पीएसबाहेक १ करोड ८८ लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता भएको छ । काम २०८३ कार्तिक १८ भित्र सक्ने लक्ष्य राखिएको छ ।
पार्कभित्र खुला व्यायामशाला, १२८ वर्गमिटरको ब्याडमिन्टन कोर्ट, ९२८.५३ वर्गमिटरको फुटसल मैदान, महिला–पुरुष तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन कक्ष निर्माण हुनेछ ।
साथै ३११.८९ वर्गमिटरमा दुवो रोपेर हरियाली बनाइनेछ । विभिन्न जातका १६३ वटा बिरुवा तथा ३०० मौसमी फूल रोपिने योजना छ। सुरक्षाका लागि पार्क वरिपरि पर्खाल निर्माण गरिनेछ ।
पार्क सञ्चालनमा आएपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ क्षेत्रका बासिन्दाले व्यायाम, खेलकुद तथा मनोरञ्जनका गतिविधि गर्न सहज हुने महानगरले जनाएको छ ।
उक्त स्थानलाई २०८० साउन ४ गते महानगर प्रहरी बलले अतिक्रमणमुक्त गरेको थियो ।
त्यतिबेला भोगचलन गर्दै आएकी पूर्वमन्त्री भद्रकुमारी घलेले पनि सार्वजनिक जग्गा खाली गर्न सहयोग गर्दै संरचना हटाउन सहकार्य गरेकी थिइन ।
Categorized in वडा