काठमाडौँ । काठमाडौंमा ‘नो हर्न’ अभियान सुरु गरिएको छ ।
आईतवारदेखि सो अभियान पुनः सुरु गरिएको उपत्यका ट्रफिक कार्यलयले जनाएको छ । आज काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर टाँसेर अभियानको सुरुवात गरिएको छ ।
उनीहरुले एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रम शुभारम्भ गरेका हुन । यसअघि २०७४ साल बैशाख १ गते पहिलो पटक यो अभियानको सुरुवात गरिएपनि प्रभावकारी हुन सकेको थिएन ।
सो अवसरमा प्रमुख शाहले हर्नबाट सुनिने ध्वनी प्रदुषण, सडक व्यवस्थापनमा मात्र नभइ वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताए ।
‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो । पछाडिका सवारी साधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन । बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ । त्यसैले आवश्यक नभएको ठाउँमा हर्न नबजाउन हाम्रो आग्रह छ ।’ उनले भने ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले, अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने बताईन ।
यो अभियानमा सवारी चालकहरुले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन । सवारी दुर्घटना हुने अवस्था भयो, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन ।
यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुने छैन ।
अभियानलाई सफल बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरु सचेतनाका लागि १५ दिन सडकमा खटिनेछन ।
Categorized in समाज