कठमाडौं । काठमाडौं महानगरमा केही दिन यता दैनिक जसो डोजर चल्न थालेको छ ।
महानगर प्रमुख बालेन्द्र शाह(वालेन)को नेतृत्वमा महानगर क्षेत्रमा निर्मित अबैध संरचनाहरुमा डोजर चल्न थालेको हो ।
पार्किङका लागि बनाएको अन्डरग्राउण्डमा पसल, कवल राखी व्यवसाय गरेको संरचनाहरुमा महानगरले धमाधम डोजर चलाउन थालेको हो । यस अघि महानगरले ३५ दिने सुचना जारी नक्सामा स्वीकृत विपरित अण्डरग्राउण्ड पार्किङमा संचालनमा रहेको पसल हटाउन सुचना जारी गरेका थियो ।
तर घरधनीले सो सुचनाको अटेर गरेपछि महानगर प्रमुख शाह आफै उपस्थित भएर व्यवसायिक संरचनाहरु भत्काउन थालेको छ ।
यसै क्रममा आज विहिवार बानेश्वरको अल्फा विटा कम्पलेक्समा पनि पार्किङको संरचना हटाउन आग्रह गर्न पुुगेका प्रमुख शाह र कप्लेक्सका धनी द्विराज शर्मासँग विच चर्का चर्की भएपछि शाहले आफैले नक्सा ल्याएर त्यहाँ रहेका अबैध संरचना भत्काएको छ ।
आज भएको विवादमा शर्मासँग शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका पनि थिए । अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन ।
उनले लेखेका छन,‘ उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला ।
बुधवार काठमाडौंका न्यूरोड खिचापोखरीस्थित आर.वि. कम्पलेक्स र काठमाडौं मलमा संचालनमा रहेका अबैध संरचना, वीरा कम्पलेक्सको अबैध संरचनाहरु डोजर लगाएर भत्काएको छ ।
सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ ।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । तर यीमध्ये अधिकांशले अन्य प्रयोजनमा ठाउँलाई प्रयोगमा ल्याएका छन ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज अल्फाविटासँगै बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउसलाई कारवाही गरिएको छ ।
त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करीव ५ ठाउँमा पसल, रेष्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् । उनीहरुलाई प्रयोजनअनुरुप संरचना प्रयोग गर्न सचेत गराइएको छ ।
त्यसैगरी वडा नं. ९ मा मुक्ति विकास बैङ्क भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।
यता काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ ।
आज कीर्तिपुर नगरपालिकाले वडा नम्बर–१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।
नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको बताएको छ ।

नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो ।
प्रमुख नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको बताए ।
तस्वीरः बिरेन्द्र शाक्य/कीर्तीपुर
Categorized in स्थानिय