काठमाडौं । काठमाडौं उपत्यकाका आज नेवाः समुदायले मनाउने पर्वहरु मध्ये गथांमुगः चह्रे धुमधामका साथ मनाईएको छ ।
हरेक वर्ष नेपाल सम्वतको ९ औं महिना दिल्लामा, दिल्लागाःचह्रेको दिन मनाइने यस पर्व प्रायः हरेक नेवाः बस्तिमा मनाइन्छ । वि.सं. अनुसार हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीको दिनमा मनाइन्छ ।
यस दिन दोबाटो तथा चौबाटोमा नर्कट बाँस (न्हाय्पँ कथि) तथा पराल वा छ्वालीको तीन खुट्टे मानव आकृती जस्तै बनाई ठड्याइन्छ । यसलाई नै गथांमुगः ख्या भन्ने गरिन्छ अर्थात भूत भन्ने गरिन्छ ।
आफ्नो घरभित्र भएका सामान, औँठी तथा पुतली खेलौनाहरुलाई यसै ख्यालाई छुवाएर घर भित्र लाने चलन छ, यसो गरेमा ती सामानलाई भूतप्रेतले आफ्नो वशमा पार्न नसक्ने विस्वास गरिन्छ ।

यो प्रचलनको बारे विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ । देशबाट भूत पिशाचहरुलाई हटाउन मनाइने यस पर्वको सम्बन्ध रोपाइँ सँग रहेको पाइन्छ । कुनैबेला उर्वर भूमी र कृषिको लागि चिनिने उपत्यकामा रोपाइँको चटारो एकदमै हुने गर्दथ्यो। वर्षभरी खानलाई पुग्ने अन्न फलाउन मरिमेटी काम गर्ने भएकोले रोपाइँलाई सिनाज्या भनिएको हो ।


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति