८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा जेनजी आन्दोलनः ५जनाको मृत्यु, संसद् भवनमा तोडफोड


प्रकाशित: सोमवार, २३ भाद्र २०८२, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सुरु गरिएको जेनजीहरूको आन्दोलन सोमबार हिंसात्मक बनेको छ । 


प्रहरीले बल प्रयोग गर्दा कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन । 


नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । ती सबैलाई रबरको गोली लागेको बताइएको छ ।


संसद् भवनमा तोडफोड


आन्दोलनकारीहरू निषेधाज्ञा तोड्दै संसद् भवन परिसरमा प्रवेश गरेका थिए । उनीहरूले रेलिङ भत्काएर पर्खालमा भ्वाङ पारेका छन ।  संसद् भवनको मूल गेट अगाडि ढुंगामुढा गर्नुका साथै अर्को गेटमा आगजनीसमेत भएको छ ।


सुरक्षाकर्मीहरूले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास प्रहार, लाठीचार्ज र हवाइफायर गरेका थिए । 


यद्यपि आक्रोशित भीड संसद् भवन वरिपरि निरन्तर नाराबाजी र तोडफोडमा संलग्न देखिएको थियो । 


झण्डा फहराउँदै आह्वान


आन्दोलनकारीमध्ये एक समूह संसद् भवन नजिकै रहेको सुरक्षापोष्टमा चढेर नेपालको राष्ट्रिय झण्डा फहराउँदै युवाहरुलाई संसद् भवनभित्र प्रवेश गर्न आह्वान गरिरहेको थियो । 


कलेज ड्रेस र झोला बोकेका किशोरकिशोरीहरू समेत आन्दोलनमा सक्रिय सहभागी देखिएका थिए । कतिपयले किशोरलाई काँधमा चढाएर राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।


कर्फ्यु


जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।  


तर, आन्दोलन रोकिएको छैन । प्रदर्शन झन उग्र बन्दै गएपछि प्रशासनले कफ्र्यु क्षेत्र सिंहदरबार, नारायणहिटी, शीतलनिवास र लैनचौरसम्म विस्तार गरेको छ ।

 

 


अस्पतालमा चाप


सिभिल अस्पतालले ठूलो संख्यामा घाइते पुगेका कारण उपचारमा कठिनाइ भएको जनाएको छ । घाइतेहरूको आधिकारिक संख्या भने अहिलेसम्म सार्वजनिक भएको छैन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex