२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा चल्ने ५४ प्रतिशत सवारी साधन प्रदूषण मापदण्डविपरित


प्रकाशित: शुक्रवार, २ फागुन २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गर्ने क्रममा ५४ प्रतिशत सवारी साधान प्रदूषण मापदण्डविपरित रहेको भेटिएको छ । 


महानगरले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षण गरेकोमा नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ।


दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको महानगरले जनाएको छ । 


विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । 


यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो ।


‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 


सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।


तीन पांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।


दुई पांग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।


सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ।


जाँच शुरुवातका चरणमा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । सचेतनात्मक कार्यक्रमका रुपमा सुझाव दिँदा पनि आफ्ना सवारी साधनलाई मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइए पछि फेल हुने सवारी साधनका चालकको कागजपत्र लिएर ५ सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ । 


वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ जना सवारी चालकलाई जरिवाना तिराइएको छ । यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारी साधन सञ्चालनमा रोक लगाउने महानगरपालिकाको तयारी छ । 


अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । 


फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।

 

14 Ferbury 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex