काठमाडौं । पहिलो पल्ट काठमाडौंदेखि लुम्बिनीसम्म पर्यटकीय बस सेवा सुरु भएको छ ।
ट्राभल नेपाल बस सर्भिसेज प्रालिले सो पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको हो ।
ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको प्रालिका सञ्चालक प्रल्हाद लोहनीले जनाएको छ ।
प्रालिका सञ्चालक लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिए । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ ।
काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताए । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ ।
टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए ।
दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ ।
Categorized in बजार