काठमाडौँ । महिला हिंसा न्यूनिकरणमा महत्वपूर्ण योगदान गरेका काठमाडौंका ३ नगरपालिकासहित ६ स्थानीय तह सम्मानित भएका छन ।
राष्ट्रिय महिला आयोगको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ र नागार्जुन नगरपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका तथा ललितपुरको कोन्ज्योसोम गाउँपालिका सम्मानित भएका छन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ती नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा पुनः स्थापना तथा विकास मञ्च (मोरङ), नेपाल स्पाइरल इञ्जुरी खेलकूद सङ्घ (काठमाडौँ) र बौद्धिक अपाङ्गता अभिभावक सङ्घ (चितवन) लाई रु १५ हजारसहित सम्मान गरिएको थियो ।
मन्त्री थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यलाई सफल बनाउन आयोगले आगामी दिनमा महिला हक, हित र अधिकारको संरक्षणमा लाग्न आग्रह गरे ।
आयोगका सचिव अनिलकुमार ठाकुर र सहसचिव युवराज सुवेदीले आयोगका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
Categorized in समाज