२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको भाषा, संस्कृती, सम्पदामा लगानी गर्न प्रमुख शाक्यको आग्रह


प्रकाशित: शुक्रवार, ४ भाद्र २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषामा लगानी गर्न आग्रह गरेका छन । 


काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सके मात्रै यो नगरको अस्तित्व कायम रहने शाक्यले बताए । 


नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन । शाक्यले काठमाडौं महानगरपालिकामा आफूहरू निर्वाचित भएर आइसके पछि यहाँको संस्कृति, सम्पदा र भाषा संरक्षणमा धेरै लगानी गरेको उल्लेख गरे ।


‘कुमारी संस्कृति अहिले विश्वमै परिचित नेपालको संस्कृति हो त्यसैले यो संस्कृतिमा कुनै पनि प्रकारको समस्या नआओस् भनेर हामी वर्तमान जीवित देवी कुमारीका लागि मासिक ५० हजार, जीवित देवता गणेश र भैरवका लागि मासिक ३०–३० हजार विशेष भत्ताको व्यवस्था गरेका छौँ । त्यस्तै भूतपूर्व कुमारीका लागि मासिक १५ हजार र गणेश तथा भैवरका लागि मासिक १२–१२ हजारको व्यवस्था गरेका छौँ । कुमारीको हेरचाह गर्ने चिताइदार परिवारका लागि पनि मासिक ५० हजार दिने गरेका छौँ ।’ शाक्यले भने । 


त्यसैगरी काठमाडौं महानगरपालिकाले हालै कक्षा १ देखि ८ सम्म शुरु गरेको नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके आफूले शुरु मात्र गरेको र अब पछि आउने जनप्रतिनिधिहरूले त्यसलाई अझ थप्दै लाने उनले विश्वास व्यक्त गरे । 


सो अवसरमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको संस्कृति भनेकै अहिले विश्वमा नेपालको संस्कृति भनेर परिचित रहेको र त्यो संस्कृतिलाई काठमाडौंका नेवार समुदायले बचाउँदै आएको कारणले नेवार समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताईन । 


त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले त्रिविविले नेपालको पहिचान स्थापित गर्ने भाषा, कला, संस्कृति, सम्पदा सम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकतामा राखेको सुनाए । 


नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरले पनि आफ्नो विचार राखेका थिए । 


उक्त कार्यक्रममा केन्द्रीय विभागले नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिादास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ लगायत पुस्तकारका रुपमा आएका विभिन्न शोधग्रन्थहरूको पनि सामुहिक विमोचन गरिएको थियो । 


सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइज गरी ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले रु. ५० लाख बजेट विनियोजन गरिएको जानकारी पनि दिइएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex