काठमाडौं । काठमाडौं महानगरपालिका–२५ न्ह्योखास्थित एक घरमा सुनका गरगहना बनाउने कालिगढको हत्या भएको छ ।
प्रहरीका अनुसार उनी भारतीय नागरिक भएको खुलेको छ । पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको बुधबार बिहान २ः४५ बजे हत्या भएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार मृतक र आरोपी एउटै ठाउँमा काम गर्दै आएका थिए ।
प्रहरीले घटनापछि फरार रहेका नुवाकोट ककनी घर भई हाल गल्कुपाखा बसोबास गर्ने ४२ वर्षीय श्याम कालिकोटेलाई नयाँ बसपार्कस्थित एक होटलको कोठा नम्बर १०४ बाट पक्राउ गरेको हो ।
‘पक्राउ परेका व्यक्ति सुन व्यवसायी हुन भने मृतक कालिगढ थिए,’ एसपी आचार्यले बताए, ‘दुबै जना सँगै काम गर्थे, सँगै खानपिन गर्ने पनि देखिएको छ ।’
प्रहरीका अनुसार दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए । मापसेपछि विवाद भएपछि कालिकोटेले सुव्रता पाललाई सुन बनाउने हम्मरले प्रहार गरी हत्या गरेका थिए ।
‘आरोपीले आफूलाई अपमान गरिएको र मालिकको व्यवहार नगरेको आरोप लगाएका छन,’ एसपी आचार्यले भने ।
घटनास्थलमा खटिएका एक प्रहरीका अनुसार मृतकको मुखमा कपडा कोचिएको र टाउकोमा पटक–पटक हतियारले प्रहार गरिएको देखिएको छ ।
हत्या बिहान पौने ३ बजे भए पनि प्रहरीलाई खबर बिहान १० बजे मात्र प्राप्त भएको थियो ।
चार तले उक्त घरमा अन्य कालिगढहरू पनि बस्दै आएका थिए । उनीहरूमध्ये कसैले प्रहरी कन्ट्रोल नम्बरमा फोन गरेर घटना सार्वजनिक गरेका थिए ।
प्रहरी वृत्त जनसेवाले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।
Categorized in समाज