काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ ठमेलको ज्याठास्थित चिनियाँ नामको होटल बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चिनियाँ नागरिकहरूमा चीनको सियाचिन क्षेत्रका ४६ वर्षीय छुनलिन थान र ३४ वर्षीया सुमेई चोउ छन ।
उनीहरू बसेको होटलको कोठाबाट प्रहरीले दुई किलो सुनसहित २४ लाख नगदसमेत बरामद गरेको छ । घटनाबारे जानकारी दिँदै कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले भने, “सुन कहाँबाट कसरी ल्याएको भनेर उनीहरू बोल्न मानेका छैनन्। अनुसन्धानको क्रममा थप विवरण खुल्नेछ ।”
पक्राउ परेका थान र चोउ प्रेम सम्बन्धमा रहेको खुलेको छ । थान करिब डेढ महिनाअघि काठमाडौं आएका थिए भने सुमेई केही दिनअघि मात्रै नेपाल आएकी थिइन ।
प्रहरीले बरामद सुनको परीक्षण मंगलबार बिहान गरेको थियो, जसमा त्यो शुद्ध सुन भएको पुष्टि भएको छ ।
अब उनीहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज