काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गतका चारवटा समितिमा संयोजक परिवर्तन सम्बन्धी अघिल्लो निर्णय उल्टाउँदै पूर्व संयोजकहरूलाई पुनः जिम्मेवारीमा फर्काएका छन् ।
यसअघि प्रमुख शाहले वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारीबाट हटाएको थियो ।
वडा नम्बर ८ का आशामान संगत, वडा नम्बर २३ का मचाराजा महर्जन, वडा नम्बर १७ का नवीन मानन्धर र वडा नम्बर २६ का ख्यामराज तिवारीको जिम्मेवारी खोसिएका थियो ।
मेयर शाहको पछिल्लो निर्णयअनुसार, सूचना प्रविधि समितिको संयोजक पदबाट हटाइएका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर पुनः सोही जिम्मेवारीमा फर्किएका छन्। यसअघि उक्त पद वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको थियो।
त्यस्तै, सुशासन समितिका संयोजक पदबाट हटाइएका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी पनि आफ्नो पुरानो जिम्मेवारीमा फर्किएका छन्। उनीलाई हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको थियो।
सम्पदा तथा पर्यटन समितिको संयोजक पदमा पनि फेरबदल उल्टिएको छ। पूर्व संयोजक वडा नम्बर ८ का अध्यक्ष आशामान संगत पुनः सोही पदमा फर्केका छन्।
यसअघि वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीलाई उक्त जिम्मेवारी दिइएको थियो।
यस्तै, विधायन समितिको संयोजक पदमा मचाराजा महर्जनको पुनः बहाली गरिएको छ । उनलाई हटाएर वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो ।
पुनः जिम्मेवारीमा फर्काइएको सूचनाबारे प्रतिक्रिया दिँदै सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भने, “जिम्मेवारीमा फर्काइएको भन्ने छ तर पत्र प्राप्त भइसकेको छैन।”
Categorized in पालिका