काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई विद्युतीय सेवा उपयोगमा सक्षम बनाउने र इन्टरनेट सुरक्षाबारे सजग गराउन डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ ।
समितिका संयोजक तथा महानगरका प्रवक्ता नविन मानन्धरको अध्यक्षतामा बसेको बैठकले प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित र उपयोगी बनाउँदै लैजाने उद्देश्यसँगै यस्ता तालिम आवश्यक रहेको जनाएको छ ।
प्रवक्ता मानन्धरले भने, “प्रविधिले जीवन सहज बनाउँछ, तर ध्यान नदिँदा जोखिम पनि उत्तिकै बढ्छ। इन्टरनेटको सही उपयोग, आधारभूत डिजिटल सुरक्षा र व्यक्तिगत गोपनीयताबारे हरेक नागरिक सचेत हुनुपर्छ ।”
पहिलो चरण—वडा १७, १८, १९ र २९ मा
समितिका सदस्य–सचिव तथा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार तालिम वडा नं. १७, १८, १९ र २९ बाट सुरु गरिनेछ। क्रमशः अन्य वडामा पनि विस्तार गर्दै लैजाने योजना छ।
‘डिजिटल भुक्तानी बढ्यो, तर सुरक्षा सिकाइएन’
समितिका सदस्य तथा वडा २९ का अध्यक्ष कुश ढकालले डिजिटल भुक्तानी बढ्दै गएको तर सुरक्षा विधि भने जनतामा न्यून रहेको बताए।
उनले भने, “विद्युतीय शासन प्रभावकारी बनाउन नागरिकले आत्मविश्वासका साथ प्रविधि चलाउन सक्नुपर्छ। साइबर सुरक्षाबारे जानकारी दिनु स्थानीय तहको जिम्मेवारी हो।”
आधारभूतदेखि उन्नत स्तरसम्म प्रशिक्षण
महानगरले प्रशिक्षणलाई आधारभूत, मध्यम र विशिष्ट स्तरमा सञ्चालन गर्ने तयारी गरेको छ। प्रशिक्षणमा समेटिने प्रमुख विषयहरू
मोबाइल सुरक्षा : सही सेटिङ, एप्सको जोखिम, वाइफाइ सुरक्षा, डेटा संरक्षण
डिजिटल वित्तीय साक्षरता : मोबाइल बैंकिङ, वालेट, अनलाइन भुक्तानी, ठगीबाट बच्ने उपाय
साइबर सुरक्षा : बलियो पासवर्ड, ओटीपी, भाइरस/एन्टिभाइरस, शंकास्पद लिङ्क पहिचान
सामाजिक सञ्जाल उपयोग : सामग्री शेयर गर्दा सावधानी, डिजिटल फुटप्रिन्ट, सुरक्षित अनलाइन व्यवहार
सूचना साक्षरता : भ्रामक जानकारी पहिचान, स्रोत पुष्टि गर्ने तरिका
कम्प्युटर सीप : फाइल व्यवस्थापन, ब्राउजिङ, इमेल, भिडियो कन्फरेन्स, अफिस सफ्टवेयर (डक्स, स्प्रेडसिट, प्रेजेन्टेसन)
Categorized in पालिका