१३ श्रावण २०८३, बुधबार
Header

काठमाडौँ महानगरमा माघ २७ देखि एचपीभी खोप अभियान


प्रकाशित: सोमवार, २६ माघ २०८२, १५ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र माघ २७ गतेदेखि महिलाहरूमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।


महानगरपालिकामा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय खोप समन्वय समितिको बैठकले खोप सञ्चालनसम्बन्धी निर्णय गरेको हो ।


उक्त खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइनेछ ।


यसैगरी, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि यो खोप प्रदान गरिनेछ ।


स्वास्थ्य विज्ञहरूका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्ने तीन चरणका उपायमध्ये पहिलो चरणमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले एचपीभी खोप लगाउनुपर्छ। दोस्रो चरणमा ३० वर्षभन्दा माथिका महिलाले नियमित रूपमा पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनुपर्ने र तेस्रो चरणमा क्यान्सर पहिचान भएका महिलाले समयमै उपचार गराउनुपर्ने व्यवस्था छ ।


स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले सरकारले निःशुल्क रूपमा खोप उपलब्ध गराउँदा अनावश्यक शंका गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै खोप सुरक्षित र सेवामूलक भएको विषयमा सर्वसाधारणलाई स्पष्ट रूपमा जानकारी दिनुपर्ने बताउनुभयो । 


महानगरपालिकाले ३० जना छात्रा रहेका विद्यालयलाई एक खोप केन्द्रका रूपमा प्रयोग गर्ने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयहरूका लागि संयुक्त खोप केन्द्र सञ्चालन गर्ने जनाएको छ ।

 
परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौत्तमका अनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ, जसमा प्रत्येक ६ मध्ये ३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

 
गत वर्ष काठमाडौँ महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई एचपीभी खोप प्रदान गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex