काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशन पुस ११ गतेका लागि आव्हान गरिएको छ ।
शुक्रवार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तय गरेको हो ।
कार्यपालिका बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रसँग सम्बन्धित ३० वटा प्रस्ताव तथा विविधतर्फ २ वटा विषयमाथि छलफल गरी निर्णय गरिएको छ ।
बैठकले निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई बजेट निकासा दिने, विद्यालय तथा हातको सौन्दर्य अभिवृद्धिका लागि अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।
साथै नेपाल भाषाको पाठ्यक्रम स्वीकृत गर्दै पाठ्यपुस्तक संशोधन गर्ने, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरू अनुमोदन गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी, दृष्टिविहिन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई जनही ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय गरिएको छ ।
बैठकबाट श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि–२०८२ र बाल कोष परिचालन मापदण्ड–२०८२ स्वीकृत गरिएको छ ।
रचनात्मक सहर सञ्जाल कार्यविधि संशोधनसहित स्वीकृत भएको छ भने सहकारी ऐन–२०७४ संशोधनका लागि र सूचना प्रविधि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।
बैठकमा महानगर प्रहरी ऐन संशोधन तथा महानगरबासीलाई निःशुल्क रक्त पदार्थ उपलब्ध गराउने विषयमा समेत छलफल भएको महानगरपालिकाले जनाएको छ ।
Categorized in पालिका