२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौँ महानगरको १८औँ नगरसभा सम्पन्न, बजेट–ऐन संशोधनसहित ९ प्रस्ताव पारित


प्रकाशित: शुक्रवार, ११ पुस २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रवार नगर सभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । 


आयोजित सभामा विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐन संशोधनलगायत ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गरिएका छन ।


सभामा महानगरपालिकाका उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०८२ को पहिलो संशोधन विधेयक तथा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पेश गर्नुभयो ।


उहाँका अनुसार वार्षिक खरिद योजना, चौमासिक प्रगति विवरण र स्वीकृत नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रम हेरफेर गर्न आवश्यक देखिएकाले संशोधन प्रस्ताव ल्याइएको हो । 


क्षेत्रगत बजेट संशोधन


सभाले आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ बजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि ६८ करोड ७४ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।


कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ५ अर्ब ८० करोड ४१ हजार रुपैयाँ कायम गरिएको छ ।


सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा भने बजेट बढाएर ३ अर्ब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ पुर्‍याइएको छ ।


खर्चको अवस्था


उपप्रमुख डंगोलले पुस ९ गतेसम्ममा ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण सभामा पेश गर्नुभयो, जुन विनियोजित बजेटको १८.४८ प्रतिशत हो ।


यस अवधिमा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको छ ।


क्षेत्रगत रुपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको छ । 


कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ४५.९९ प्रतिशत खर्च भएको देखाइएको छ ।


आयतर्फको प्रगति


चालु आर्थिक वर्षमा १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । पुस ९ गतेसम्ममा ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो ।


ऐन संशोधन र अन्य निर्णय


सभामा विधायन समितिका संयोजक मचाराजा महर्जनले महानगर प्रहरी ऐन, २०८०, सहकारी ऐन, २०७४ र भवन निर्माण मापदण्ड, २०८० का पहिलो संशोधन विधेयक २०८२ पेश गर्नुभयो । सभाले यी विधेयकहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।


यस्तै, ४३औँ कार्यपालिका बैठकले स्वीकृत गरेको करार दरबन्दी नगरसभाबाट अनुमोदन गरिएको छ । महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी पुनरावलोकनसम्बन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन कार्यान्वयनका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरिएको छ ।


२६ करोडभन्दा बढी बेरुजु फछ्र्योट प्रस्ताव पारित


सभामा लेखा समितिका संयोजक गायत्री पुडासैनीले आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्मको बाँकी बेरुजुमध्ये २६ करोड ३९ लाख ५१ हजार ७३४ रुपैयाँ नियमित तथा समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा शिफारिस गर्ने प्रस्ताव पेश गर्नुभयो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।


सभामा नगरसभा सदस्य विजु श्रेष्ठ, रोजिना श्रेष्ठ, भगवान बुढाथोकी र सन्तोष ढुङ्गेलले प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex