काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको नतिजामा सुधार देखिएको छ ।
यस वर्ष ६० वटा विद्यालयबाट परीक्षामा सहभागी ४ हजार १६७ जना विद्याथीहरु मध्ये ३ हजार १९८ जना (७६.७५ प्रतिशत) ग्रेडेड भएका छन ।
चार वटा विद्यालय—केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालय—ले शतप्रतिशत नतिजा हासिल गरेका छन ।
यस वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २८ पुगेको छ, जुन गत वर्षको १७ जनाभन्दा बढी हो ।
तीमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण माध्यमिक विद्यालय र शिवपुरी माध्यमिक विद्यालयका एक/एक जना, विश्व निकेतन माध्यमिक विद्यालयका तीन जना तथा रत्नराज्य माध्यमिक विद्यालयका दुई जना विद्यार्थी रहेका छन ।
गत वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड भएका थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी सहभागी हुँदा ग्रेडेड हुने दर ०.६७ प्रतिशतले बढेको छ ।
जीपीए वितरणअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ५४३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना र २.० देखि २.४ जीपीए ल्याउने १४ जना विद्यार्थी छन ।
नतिजाले उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्दै गएको र न्यून जीपीए ल्याउनेको संख्या घट्दै गएको संकेत गरेको छ ।
नट ग्रेडेड विद्यार्थीको संख्या भने केही घटेर ९६९ मा झरेको छ, जुन गत वर्ष ९७६ थियो ।
शिक्षा विभागका शिक्षा अधिकारी नमराज ढकालका अनुसार नतिजाको सूक्ष्म विश्लेषण गरी सुधारलाई प्रोत्साहन गरिने र लगातार कमजोर नतिजा दिने विद्यालयलाई नकारात्मक सूचीमा राखिनेछ ।
महानगरपालिकाले नतिजा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम, विदाको समयमा सञ्चालन गरिएका शैक्षिक क्याम्प, विशेष निगरानी कक्षा र शिक्षक तालिमले सिकाइमा सकारात्मक प्रभाव पारेका छन ।
त्यस्तै, स्मार्ट कक्षा सञ्चालन, डिजिटल शिक्षण विधि, अतिरिक्त तथा सहपाठ्यक्रम गतिविधिमा जोड, र शिक्षक–प्रधानाध्यापकको क्षमता विकास कार्यक्रमले पनि नतिजा सुधारमा योगदान दिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले बताए ।
महानगरपालिकाले विद्यार्थीको सिकाइ सुधारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी योजना लागू गर्ने जनाएको छ ।
Categorized in पालिका