५ बैशाख २०८१, बुधबार
Header

काठमाडौँ महानगरका सबै वडा नयाँ र सेवाग्राही मैत्री बन्ने  


प्रकाशित: शुक्रवार, ७ कात्तिक २०७७, १७ः४८ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ । 


महानगरपालिकामा प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गरेका छन । 


प्रमुख शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गर्ने क्रममा सो वताएका हुन । उद्घाटनपछि कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने भनेर गरेको निर्णयलाई पुर्णता दिएरै छाड्ने प्रतिवद्धता दोहोराए । 


‘हाम्रो लक्ष्य अनुसार नै काठमाडौँ महानगरपालिका वडा नम्बर–९ को वडा भवन उद्घाटन गर्न सफल भएका छौँ । मेरै कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन एउटै शैली र स्वरुपका बनाउने हाम्रो प्रतिवद्धतालाई पूरा गरेरै छाड्ने छु,’ शाक्यले भने, ‘काठमाडौँ महानगरपालिका भनेको संस्था हो, यहाँ व्यक्ति प्रमुख हुँदैन । त्यसैले सबैले मिलेर  महानगर र वडावासीलाई सेवा दिनुपर्छ । त्यसका लागि सेवाग्राही मैत्री भवनको आवश्यक हुन्छ । वडा–९ ले अब सेवाग्राही मैत्री भवनबाट वडावासीलाई राम्रो सेवा दिनुपर्छ ।’ काठमाडौँ महानगरपालिकाले छिट्टै महानगरपालिका भवनको पनि शिलान्यास गर्ने तयारी गरेको छ । 


प्रमुख शाक्यले सबै वडा भवन बनाउने कार्यक्रम अन्तर्गत वडा वडा–१८ को उद्घाटन भै सकेको जानकारी दिनुभयो । ‘आज वडा–९ उद्घाटन भयो,’ शाक्यले भन्नुभयो, ‘वडा–२६, ३, ४ र १४ को भवन निर्माण सम्पन्न भएको छ । ती भवन पनि छिटै उद्घाटन गर्ने तयारीमा छौँ ।’ काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ भने भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा रहेका छन ।

 
वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ भने वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ । केही दिन अघि मात्रै प्रमुख शाक्यले नै वडा २२ को वडा कार्यालय भवन शिलान्यास गर्नुभएको थियो ।  


सोही कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख काक्यले काठमाडौँ महानगरपालिका सम्पदा निर्माण, पुनः निर्माणका काममा पनि त्यत्तिकै सक्रिय रहेको जानकारी दिए । 


रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भई राष्ट्रपतिबाट उद्घाटन भएको जानकारी दिनुभयो । ‘रानीपोखरीको चरणबद्ध रुपमा गर्नुपर्ने धेरै काम बाँकी छ । दरबार हाइस्कुल पनि राष्ट्रपतिज्युबाटै उद्घाटन भई महानगरपालिकालाई हस्तान्तरण भएको छ ।

 
काष्ठमाण्डप, धरहरालगायतका ऐतिहासिक सम्पदा पुनःनिर्माणको अन्तिम चरणमा पुगेका छन,’ शाक्यले भन्नुभयो, ‘मलाई सुरुका दिनमा मेयरले रानीपोखरी बेचेर खायो भनेर आरोप लगाए । मैले त्यसको कुनै प्रतिक्रिया दिदैँ हिडिन । त्यस्ता दुई–चार जनाको समूह जहाँ पनि हुन्छ । दुई–चार जनाले सामाजिक सञ्जालमा स्ट्याटस हाल्दैमा महानगरवासी पत्याउने खालका छैनन । 


२०७४ पुस ११ गते केही विवाद भएपछि मेरै अध्यक्षतामा २०७४ साल पुस १३ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्न निर्देशन मैले नै दिएको हो । त्यतिबेलाका पत्यार लाग्दैन भने त्यतिबेलाको निर्णय पल्टाएर हेरे हुन्छ ।’ 


उहाँले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो ।  


उहाँले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने काठमाडौँ महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेकोमा खुशी व्यक्त गरे । ‘रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए,’ उनले, ‘९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई  जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए । 


तर, हामीले  संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रतापमल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ ।’ 


कार्यक्रममा सम्वोधन गर्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करीब ४५ वर्षदेखि जिर्ण रहेको भवनबाट सेवा दिदैँ आएका वडा–९ ले सुविधान सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुशी लागेको बताए ।


वडा सदस्य सिर्जना भेटवालले जिर्ण भवनबाट पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएको स्मरण गराउँदै कोभिड–१९ को जोखिमका बेला सुविधा सम्पन्न भवनबाट सेवा दिने अवसर प्राप्त भएको बताए । उनल वडाका जनप्रतिनिधि र वडावासीका लागि आजको दिन ऐतिहासिक भएको पनि स्मरण गराए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD