काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीमध्ये उच्च ग्रेड प्राप्त गर्नेको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
२०८१ सालको नतिजा अनुसार ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको ग्रेड हासिल गरेका छन । तीमध्ये १७ जनाले उच्चतम ४ जीपीए ल्याएका छन ।
गत वर्षको तुलनामा यो ४४.७७ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०८० मा यस्तै ग्रेड ल्याउने विद्यार्थीको संख्या ५४५ मात्र थियो ।
यस वर्ष २४४ जना थप विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ ।
अन्य श्रेणीमा पनि सुधार
एसईई नतिजामा अन्य श्रेणीको ग्रेडमा पनि केही सकारात्मक परिमार्जन देखिएको छ । यस वर्ष ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी १ हजार १४८ जना रहेका छन, जुन अघिल्लो वर्षको तुलनामा ९८ जना बढी हो ।
त्यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना छन ।
त्यसैगरी, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना विद्यार्थी रहेका छन । यी मध्ये २.४१ देखि २.८ जीपीए ल्याउने विद्यार्थी संख्या २०८० मा ३९५ थियो भने २.०१ देखि २.४ बीचको संख्या यथावत छ ।
तर, २ जीपीए भन्दा कम ल्याउने ‘नट ग्रेडेड’ विद्यार्थीको संख्या भने बढेको छ । गत वर्ष ८७७ जनालाई यस्तो श्रेणीमा राखिएकोमा यस वर्ष ९५६ जना पुगेका छन ।
शिक्षा विभागका अनुसार विद्यालयहरूको शैक्षिक गुणस्तरमा आएको सुधार, शिक्षकको सक्रियता, विद्यार्थीको मिहिनेत तथा महानगरपालिकाद्वारा सञ्चालित कक्षा बाहेकका शैक्षिक क्याम्पहरूलाई जान्छ ।
महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।
सिकाइप्रति रुचि बढाउने उद्देश्यले ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ, जसमा पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रम एकीकृत गरेर बहुआयामिक सिकाइको अभ्यास गरिन्छ।
शिक्षकको दक्षता अभिवृद्धिका लागि ‘स्कूल टिचर्स कार्यक्रम’, ‘टिचर कलेज कार्यक्रम’ र व्यवस्थापन तथा प्रविधिमा आधारित तालिमहरू समेत सञ्चालन भइरहेका छन। विद्यार्थी केन्द्रित डिजिटल र सह–पाठ्यक्रमगत क्रियाकलापले नतिजामा सकारात्मक प्रभाव पारेको शिक्षा विभागको दाबी छ ।
Categorized in पालिका