७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौँमा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु 


प्रकाशित: मंगलवार, १७ चैत २०८२, १६ः१५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल सँगको सहकार्यमा महिलाहरूका लागि स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर परीक्षण कार्यक्रम सुरु गरेको छ ।

 

कार्यक्रमअन्तर्गत पहिलो दिन १३६ जनाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल लिएर वीर अस्पतालमा परीक्षण गराएका छन ।


तीमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको इतिहास रहेको जनाइएको छ ।


कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले समयमै क्यान्सर पहिचान गर्न सके उपचार सहज र कम खर्चिलो हुने बताइन ।


कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले क्यान्सर समयमै पहिचान नहुँदा जोखिम बढ्ने भएकाले महानगरको पहल महत्वपूर्ण रहेको बताए ।

 
त्यस्तै, कार्यकारी निर्देशक प्रा. डा.
दिलिप शर्माले महिलाहरूको क्यान्सर परीक्षण अभियान अनुकरणीय भएको धारणा राखे ।


कार्यक्रममा क्यान्सरबाट उपचार पाएकी सस्मिता कार्की थापा र बिमला पौडेलले आफ्नो अनुभव सुनाउँदै समयमै जाँच गराउनु जीवनरक्षाका लागि महत्वपूर्ण हुने बताए । बिमला पौडेलले प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागेकाले उपचार सफल भएको उल्लेख गरिन ।


क्यान्सर विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईंका अनुसार एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) पोजेटिभ हुनु क्यान्सर हुनु होइन, तर यसले भविष्यमा क्यान्सरको जोखिम बढाउन सक्छ । उनले समुदायस्तरमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि आवश्यक रहेको बताइन ।


यस वर्ष परीक्षणको दायरा विस्तार गर्दै एचपीभीका विभिन्न प्रकारहरू(जस्तै ६, ११, १६, १८, ३१, ३३, ४५, ५२ र ५८)को परीक्षण गर्ने तयारी गरिएको वीर अस्पतालले जनाएको छ ।


चिकित्सकहरूका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूले प्रत्येक ५ वर्षमा एकपटक सर्भाइकल क्यान्सर परीक्षण गराउनु आवश्यक हुन्छ । 


धेरै यौन साझेदार, कम उमेरमै यौन सम्पर्क, एचआइभी संक्रमण, धूमपान, कमजोर प्रतिरक्षा प्रणालीजस्ता कारणले क्यान्सरको जोखिम बढ्ने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex