काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन ।
प्रमुख शाक्यले पर्यटनका माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको बताउँदै भने,‘‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भन्नुभयो, ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ । यी दुई महानरबिच प्रकृति र सम्पदाको प्रवद्र्धन र व्यवस्थापन गर्न सक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउँदै पर्यटनकै माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उँचो बनाउन सकिन्छ ।’
काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई अध्ययन भ्रमणकै क्रममा पोखरा पुगेका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन ।
शाक्यले काठमाडौँ भुगोलले सानो भए पनि जनघनत्व बढी भएकाले व्यवस्थापनमा चुनौति भएको भन्दै पोखराले अहिलेदेखि नै व्यवस्थित मानव बसोबासका लागि योजना बनाउनु पर्नेमा जोड दिए ।
‘पोखराको भूगोल ठूलो छ । तर, जनसंख्या त्यो अनुपातमा कम छ । त्यसैले अहिलेदेखि नै पोखराले काठमाडौँँको अवस्थालाई हेरेर व्यवस्थित मानव बसोबासका लागि योजना बनाउन आवश्यक छ,’ शाक्यले भने, ‘दुबै सहरका लागि अव्यवस्थित बसाइँसराइ चुनौति बनेको छ । त्यसैले एकिकृत बस्ती विकासलाई सबै भन्दा बढी ध्यान दिनुहोला ।’
कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौँ महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहिबाट सिक्नु पर्ने भएकाले काठमाडौँ महानगरको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिए ।
सो काठमाडौँ महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोड दिइन । मेयर–मेयर र उपमेयर बिच कार्यक्रममा मायाको चिनो आदन–प्रदान गरिएको थियो ।
प्रमुख शाक्यको टोलीले आइतबार तानसेन नगरको पनि अवलोकन भ्रमण गरेको थियो ।
Categorized in समाज