काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन ।
शनिवार आफ्नै निवास कपनबाट पक्राउ परेकी सांसद राईलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ ।
उनी आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।
सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई फरार थिइन् । सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो ।
आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
यसअघि दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
Categorized in सहकारी