काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन ।
पुस २७ र २८ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो १२ बजे भृकुटीमण्डपमा सुरु हुनु अघि विभिन्न स्थानबाट जुलुस निस्किने तयारी गरिएको हो ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समितिका नेता जगदीश्वरनरसिंह केसीले जुलुसका रुट तथा व्यवस्थाबारे जानकारी दिए ।
उनका अनुसार काठमाडौं, ललितपुर र आसपासका क्षेत्रका सहभागीलाई लक्षित गरी ६ वटा रुट निर्धारण गरिएको छ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कनेछ ।
६ रुटबाट भृकुटीमण्डपतर्फ जुलुस
रुट नम्बर १ – सुन्धारा
सुन्धारालाई जम्मा स्थल बनाइएका इस रुटमा चितवन, अर्घाखाँची, नवलपुर र सुदूरपश्चिमका जिल्ला तथा काठमाडौं क्षेत्र नं. ८, ९ र १० का नेता–कार्यकर्ता सहभागी हुनेछन । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर २ – रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ र काठमाडौंको उत्तरी क्षेत्रका साथै क्षेत्र नं. ५, ६ र ७ का नेता–कार्यकर्ता रहनेछन । यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशन स्थलतर्फ अग्रसर हुनेछ ।
रुट नम्बर ३ – पद्मकन्या क्याम्पस
यस रुटमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सहभागी रहनेछन्। काठमाडौं क्षेत्र ५, ६ र ७ का कार्यकर्ता पनि यही रुटमा रहने व्यवस्था गरिएको छ । जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।
रुट नम्बर ४ – शंकरदेव क्याम्पस
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं क्षेत्र नं। २ र ३ का सहभागी शंकरदेव क्याम्पस आसपासबाट जुलुसमा प्रवेश गर्नेछन्। पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश हुनेछ ।
रुट नम्बर ५ – कमलपोखरी
कमलपोखरीबाट निस्कने रुटमा काठमाडौं क्षेत्र नं. १ र ४ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस कमलपोखरी, चारखाल, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै महाधिवेशनस्थल पुग्नेछ।
रुट नम्बर ६ – कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका सहभागी रहनेछन । कुपण्डोल–थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै जुलुस भृकुटीमण्डप प्रवेश गर्ने योजना छ ।
नेता केसीका अनुसार जुलुसमार्फत कार्यकर्ताहरूको उत्साह प्रदर्शन गरिने र शान्ति सुरक्षा कायम राख्न ट्राफिक तथा सुरक्षा निकायसँग समन्वय गरिएको छ ।
Categorized in राष्ट्रिय