काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टी विधान महाधिवेशन आह्वान गरेका छन ।
बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त र सुदृढ बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन ।
वक्तव्यमा धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २२८८ जना अर्थात ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको उल्लेख छ ।
बदलिँदो राजनीतिक परिस्थिति र जनभावनाअनुरूपको नीति निर्माणका लागि विशेष निर्णय अब अपरिहार्य भएको उनीहरूको तर्क छ ।
महामन्त्रीद्वयका अनुसार विशेष महाधिवेशनको माग दर्ता भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन समिति र नेतृत्वको जिम्मेवारी हो ।
तर केन्द्रीय कार्यसमितिबाट महाधिवेशन बोलाउने प्रक्रिया अघि नबढेपछि विधानले व्यवस्था गरेको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशन आफू नै “क्रियाशील” भएको दाबी उनीहरूले गरेका छन ।
वक्तव्यमा भनिएको छ, “विधान बमोजिम कारणसहित गरिएको विशेष महाधिवेशनको मागलाई असान्दर्भिक वा औचित्यहीन भन्न कसैलाई अधिकार छैन । वैधानिक माग बेवारिसे हुन सक्दैन ।”
उनीहरूले पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा अपरिहार्य तथा बाध्यकारी बनेको दाबी पनि गरेका छन ।
थापा–शर्माले बहुमत महाधिवेशन प्रतिनिधिद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति ऐक्यबद्धता जनाउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास, आन्तरिक सुधार र नीति पुनर्समीक्षाका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन ।
Categorized in राष्ट्रिय