१५ चैत्र २०८०, बिहिबार
Header

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता, के –के छ सेवा सुविधा ?


प्रकाशित: सोमवार, ९ माघ २०७९, २०ः५० बज
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ ।


सोमवार संघीय संसद सचिवालयले कांग्रेसलाई संसदको प्रमुख विपक्षी दल भएको पत्रचार गरेको हो । 


सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

 
पुस २६ गते नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि संसदमा प्रतिपक्ष नभएको भन्ने चर्चा चलेपछि कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।


यस अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष प्रेम सुवालले आफ्नो पार्टीलाई विपक्षी दलको मान्यता दिन माग गरेका थिए । नेपाल मजदुर किसान पार्टीका र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।


सचिवालयले जारी गरेको पत्रममा– ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’


सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले सदनमै प्रश्नसमेत उठाएका थिए ।


विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन । 


त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि उनले प्राप्त गर्नेछन् । त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD