काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित १५औँ महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका प्रस्ताव पारित गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समिति बैठकबाट संशोधित कार्यतालिका पास भएको जानकारी दिए । उनले पुसमा प्रस्तावित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि नयाँ कार्यतालिका स्वीकृत गरिएको बताए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले भने, ‘पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएपछि संशोधित कार्यतालिका पास गरिएको हो । अब वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन हुनेछ ।’
उनका अनुसार संशोधित कार्यतालिका अनुसार चैत २१ गतेदेखि अधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
कार्यतालिकाअनुसार चैत २१ गते गाउँ तथा नगर अधिवेशन प्रारम्भ हुनेछ भने चैत २५ गते गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ ।
त्यस्तै, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ। वैशाख २ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र वैशाख ५ गते दुई वा त्यसभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका तय गरिएको छ ।
यसैगरी, आगामी वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गरिने र वैशाख मसान्तभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ ।
यद्यपि, नियमित महाधिवेशनको मिति बहुमतले पारित भए पनि विशेष महाधिवेशनको विषय अझै नटुंगिएको भन्दै कांग्रेसभित्र असन्तोष देखिएको छ ।
महामन्त्री गगनकुमार थापाले पार्टी विधानको धारा १७(२) अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने दायित्व कायमै रहेको बताएका छन ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै धारा ४३ प्रयोग गरेर महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव ल्याउनुभयो । यसमा ४–५ जनाले फरक मत राख्यौँ तर बहुमतले प्रस्ताव पारित भयो ।’
विशेष महाधिवेशन माग गर्दै बुझाइएको पत्र तीन महिनाभित्र बोलाउनुपर्ने उल्लेख गर्दै उनले पुस २८–२९ नै अन्तिम म्याद रहेको बताए ।
उनका अनुसार मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने र नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यसलाई स्थगित गर्न सकिने निर्णय गरेको थियो ।
तर नियमित महाधिवेशन तत्काल नहुने भएपछि विशेष महाधिवेशनको माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु भएको थापाको भनाइ छ ।
‘आज फरक मत लेखेर चुप लागेर बस्ने अवस्था छैन,’ उनले भने, ‘अब एक–दुई दिन हेर्छौँ। सभापति वा कार्यवाहक सभापतिले विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्नुभयो भने उत्तम हुन्छ ।’
तर महाधिवेशन थप्दै सबै घर जाऔँ भन्ने निर्णय भए आफूहरूले नमान्ने चेतावनी पनि उनले दिए ।
Categorized in राष्ट्रिय