३० भाद्र २०८३, मंगलबार
Header

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा हुने


प्रकाशित: सोमवार, १९ भाद्र २०८३, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । 


महाधिवेशनको उद्घाटनदेखि बन्द सत्रलगायत सबै कार्यक्रम खुलामञ्चमै आयोजना गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।


कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । महाधिवेशनका लागि खुलामञ्च बुकिङलगायत आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए ।


‘१५औँ महाधिवेशन ऐतिहासिक ठाउँ खुलामञ्चमा हुँदैछ । २०३६ सालमा बीपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि उद्घोष गरेको तथा २०४६ सालमा गणेशमान सिंहले नेपाली जनतालाई नेतृत्व दिएको ठाउँ भएकाले यसको प्रतीकात्मक महत्त्व पनि छ,’ चालिसेले भने । 


उनका अनुसार असोज १६ गते दिउँसो १ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुनेछ । उनले महाधिवेशनलाई पार्टीको सांगठनिक र राजनीतिक जीवनको महत्वपूर्ण प्रक्रिया मात्र नभई ‘महाउत्सव’का रूपमा लिनुपर्ने बताए ।


यसअघि कांग्रेसले महाधिवेशनका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह, बगैंचा तथा पार्किङस्थलसमेत प्रयोग गर्ने गरी पत्राचार गरेको थियो ।


तर पछिल्लो निर्णयअनुसार उद्घाटन, बन्द सत्रलगायत सबै कार्यक्रम खुलामञ्चमै गर्ने तयारी भएको हो । 


महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । पार्टीले महाधिवेशनमा सबै सदस्य तथा पार्टीका विभिन्न निकायलाई उत्साहजनक सहभागिताका लागि आह्वानसमेत गरेको छ ।


कांग्रेसको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ । त्यसपछि गाउँ–नगर, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन हुनेछ । प्रदेश तथा जिल्ला अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex