काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९का लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
आईतवार सानेपा स्थित पार्टी कार्यलयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेको हो ।

महामन्त्री गगन थापाको संयोजकत्वमा निर्माण गरिएको घोषणापत्रमा जनताको करबाट भ्युटावर र स्वागद्वारजस्ता संरचना नबनाउने प्रतिबद्धता जनाएको छ ।
उक्त घोषणा पत्रमा ‘जनताको करबाट उठेको राजश्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं भन्ने उल्लेख छ ।
त्यसैगरी स्थानीय तह चुनावको घोषणा पत्र सार्वजनिक गर्दा सात वटा कार्य नगर्ने प्रतिबद्धता जनाएको छ ।

उक्त घोषणा पत्रमा भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई जागिर नखुवाउने प्रतिबद्धता छ । ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं’ भन्ने प्रतिवद्धता उल्लेख छ ।
यस्तै कांग्रेसले ुमहिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरा प्रत्यक्ष तथा परोक्ष रूपमा कुनै पनि अवस्थामा संलग्न नहुने पनि प्रतिबद्धताु जनाएको छ ।
साथै कानून, आर्थिक तथा वित्तिय उत्तरदायित्व र अनुशासनको उलंघन नगर्ने प्रतिवद्धता गरेको छ । निर्दिष्ट योजना र विनियोजित स्रोतभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने पनि कांग्रेसले बताएको छ ।
कानूनको सीमाभन्दा बाहिर गएर वा आर्थिक प्रलोभनमा परेर कुनै पनि काम वा निर्णय नगर्ने पनि कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।
साथै कांग्रेसले संविधानअनुसार कानून बनाउने, स्थानीय सरकारलाई थप स्रोत(साधन सम्पन्न बनाउने, जिल्ला समन्वय समितिको भूमिका प्रष्ट पार्ने, स्थानीय सरकारको अनुगमन तथा मूल्यांकन संरचना तयार पार्नेजस्ता विषय समेट्दै के काम गर्ने भन्ने प्रष्टाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय