१२ श्रावण २०८३, मंगलबार
Header

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि


प्रकाशित: मंगलवार, १२ साउन २०८३, १६ः१५ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । 


ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो । 


नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले नेता श्रेष्ठको निधन भएको पुष्टि गर्दै केही समयमै पार्टीले औपचारिक विज्ञप्तिमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने बताएका छन ।


गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गरेका छन । 


उनका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ ।


नेपाली कांग्रेसले हालै मात्र गोपालमान श्रेष्ठलाई पार्टीमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप वरिष्ठ नेता मनोनीत गरेको थियो ।  


कांग्रेस सभापति गगन थापाले साउन ७ गते उनको मनोनयन घोषणा गरेका थिए ।


श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था कमजोर भए पनि उनी गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।


स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका श्रेष्ठले भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । उनी पूर्वउपप्रधानमन्त्रीसमेत हुन । लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवन बिताएका उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।


उनको निधनसँगै नेपाली कांग्रेसले लामो राजनीतिक अनुभव, लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका र संगठन निर्माणमा महत्त्वपूर्ण योगदान दिएका एक अग्रज नेता गुमाएको छ ।


गगन थापाले दिए हार्दिक श्रद्धाञ्जलीः 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex