१४ बैशाख २०८१, शुक्रबार
Header

कलाकार स्व.अक्कल दास एस.के. को सातौं स्मृति 


प्रकाशित:  सोमवार, २० पुष २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिभाशाली कलाकार स्व. अक्कल दास एस.के.को सोमवार सातौं स्मृति परेको छ ।


१३ बर्षको कलिलै उमेरमा आमाको निधनले मर्माहित अक्कलदासले आफ्नै आमाको प्रेरणाबाट गायन क्षेत्रमा प्रवेश गरेका थिए । उनले पहिलो पटक सार्वजनिकरुपमा २००७ सालमा सार्वजनिक रुपमा गीत गाएका थिए । 


तत्कालिन राजा त्रिभुवन भारतको दिल्लीबाट काठमाडौं फिर्ति सवारी हुँदा त्रिभुवन विमानस्थलमा एक स्वागत समारोहमा स्वागत गीतका रुपमा आफ्नो सुमधुर स्वरले स्रोता दर्शकहरुलाई अक्कल दासले मोहित बनाएका थिए ।

 
त्यसैगरी उनले बेलायतका फिल्म निर्माता तथा निर्देशिका श्रीमति एन टोङ द्वारा निर्मित “नेपाल टुडे” नाम वृत्तचित्रका लागि मा.रत्नदास प्रकाशको संगीतमा स्व.म.वी.वी.शाह रचित गीत ‘मर्नु सबको लागि साँचो जति छ, जन्मेर उत्तिकै समय बिते आउन्न फेरि फर्केर’ गाएका थिए ।


२०२० सालमा रेडियो नेपालमा अनुबन्धित भएपछि अक्कलदासले आफ्नै संगीत आधुनिक गीत, भजनहरु रचना गरि गीतहरु गाएका थिए । रेडियोमा रहँदा वहाँले गाउनु भएको ‘देखेर पनि नदेखेझै गर्यौ’ जस्ता गीतहरु त्यसबेला निकै चर्चित थिए । 


उनले २०४० सालमा रत्न रेकर्डिङ्ग संस्थानद्वारा आयोजित संगीत प्रतियोगिता, नेपाल टेलिभिजनको ‘प्रतिभाको डबली” तथा अन्य संगीत कार्यक्रमको माध्यमबाट आफ्नो प्रतिभालाई जनसमक्ष राख्दै आएका थिए । 


उनले गाएका राष्ट्रिय गीत ‘जाग हे जाग बीर हो, यो देश माथि उठाउन, सृजना बत्ती बालेर, उज्यालो नेपाल बनाउन’ २०४६ देखि २०४८ सालको समयमा नेपालीमाझ अक्कलदास लोकप्रिय गायकको रुपमा बढी चर्चित भएका थिए । 


बाल्यकाल देखि नै कला र संस्कृतिका धरोहर एवं गायक प्रति गहिरो चाख लिने कलाकार स्व.अक्कल दास एस.के. लाजिम्पाटमा जन्मेका थिए । सैनिक बुद्विदास खड्गी र आमा गुणीमाया खड्गीकी सुपुत्र अक्कल दास एस.के.सानै उमेर देखि भजन मण्डलीहरुमा गाउँथे । आमा गुणीमाया पनि लोकगीत गायिका रहीसकेकीले पनि कलाप्रति अक्कलदासको झुकाव थिए । 


मूर्तिकला र चित्रकलातर्फ पनि रुचि भएका अक्कलदास २०१६ सालतिर घरेलु विभागद्वारा संचालित सेरामिक्स शाखामा ६ महिना प्रशिक्षण लिएपछि त्यहाँको डिजाइन शाखामा प्रशिक्षकको रुपमा जागिरे भए तापनि साहित्यिक एवं सांगीतिक क्षेत्रमा आफ्नो संलग्नतालाई छाडेनन । 


भारतको प्रयाग संगीत समितिबाट संगीत सम्बन्धी प्रमाणपत्र पाएका अक्कलदासका स्वरहरु रेडियो नेपालका रेकर्डहरुमा स्वराङ्कन भएका थिए । शास्त्रीय संगीतमा दखल प्राप्त गरेका अक्कलदास साहित्य क्षेत्रमा पनि सक्रिय रहेका थिए । 


देश विदेशका पत्रपत्रिकाहरुमा वहाँका गीत तथा कविताहरु प्रकाशित भएका थिए भने राष्ट्रिय कविता प्रतियोगितामा पनि सहभागी भई रेडियो रुपक, नाटकमा आफ्नो कला प्रस्तुत गरेका थिए । अक्कलदासबाट निर्मित स्वर्गीय राजा महेन्द्रको अर्धकदको सेरामिकको मुर्ति एवं गीत, गजलका संग्रहित रचनाहरु सुरक्षित एवं संरक्षित छन ।


यसरी लामो समयदेखि नै कला क्षेत्रमा योगदान दिएका अक्कलदास एस.के.को आज सातौं स्मृतिको अवसरमा वहाँको कलाकारिताको सम्मान राष्ट्रले समेत गरिनुपर्ने देखिने उनका छोरा अभिमन्यू खड्गीले बताएका छन ।


मृत्युपर्यन्त कलाकारको कलाकारिताको योगदान प्रति सम्मान गर्ने संस्कारको विकास भएमा नेपाली कलाक्षेत्र जीवन्त रहने र यसलाई भावीपुस्ताले आत्मसात गर्नुपर्ने आजको आवश्यकता भएको छोरा खड्गीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD