काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीमा अनावश्यक बखेडा खडा गरेर राजनीति गर्ने काम भएको बताएका छन ।
नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटनको क्रममा प्रमुख शाक्यले कमलपोखरीमा राजनीति हावी भएको भनाई राखेका छन ।
विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमल पोखरी पुनर्निर्माणको काम अघि बढाएको तथा पुनर्निमाणको धेरै काम सम्पन्न भएपछि अनावश्यक वखेडा झिकेर राजनीति गर्ने काम भएको प्रमुख शाक्यको भनाई छ ।
प्रमुख शाक्यले भने,‘गगन थापाहरू कमल पोखरीलाई छठ पोखरी बनाउन चाहन्थेँ, मैले त्यसलाई सांस्कृतिक पोखरी बनाउन चाहेँ, काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ । कमलपोखरीमा पनि त्यहि गर्न खोजिदैँछ ।’
कमलपोखरीमा त्यही क्षेत्रका विघटित संसदका सांसद गगन थापाले अहिलेसम्म कति खर्च गर्नु भएको छ त्यसको लिखित विवरण माग्दै पत्र पठाएको पनि जानकारी दिँदै उनले भने, ‘यदि उहाँले सो विवरण दिन सक्नुभएन भने त्यहाँ खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिने छ, ।’
गगन थापाले आपूलाई लिखित पत्र पठाई कमलपोखरीमा सांसद कोषबाट करोडौं रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण थापालाई लिखित पत्र नै पठाई कमल पोखरीमा उहाँले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको प्रमुख शाक्यले बताएका थिए ।
थापाले पटक–पटकका छलफलमा पनि त्यहाँ सांसद विकासकोष र नीजि स्रोतबाट तारवारलगायतका कार्य गरेको आफूलाई बताउनु भएको पनि जानकारी दिए ।
प्रमुख शाक्यले भने ‘कमलपोखरीमा आफूले गरेको कामको विवरण उहाँले पेस गरेयो भने सबैलाई थाहा हुनेछ त्यहाँ अहिले होइन पहिला नै सिमेन्ट प्रयोग गरी निर्माण कार्य कसले गरेको रहेछ प्रष्ट हुन्छ ।’
त्यहाँ बनाइएका सिंढीमा सिमेन्ट कसले प्रयोग गरेको रहेछ भन्ने कुरा पनि उहाँको विवरण आए पछि थाहा हुन्छ । यदि विवरण दिन सक्नुभएन भने उहाँले खर्च गरेको भनिएको करोडौं रकम हिनामिना गरेको हो कि भन्ने प्रश्न उठ्ने प्रमुख शाक्यले भने ।
गगन थापाले सबै विवरण दिएपछि छिट्टै कमलपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर पोखरी पुनर्निमाणबारे सबै जानकारी दिने पनि बताए ।
शाक्यले सम्पदाप्रेमिलाई पनि राजनीति आग्रह–पुर्वाहग्रह लिएर आन्दोलन नगर्न सुझाव दिए । ‘पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न महानगरपालिका सदैव तयार छ । म उहाँहरुलाई पनि यो अभियानमा हातेमालो गर्न आग्रह गर्दछु । तर, सम्पदाप्रेमिको आवरण ओढेर राजनीति नगर्न तपाईँहरुलाई सुझाव दिन्छु ।’
‘अहिले राजनीति गर्न सजिलो छ, सम्पदाप्रेमि भनेपछि जे गर्न पछि छुट पाउने अवस्था भइरहेको छ’ शाक्यले भन्नुभयो, ‘यसले विकास निर्माणमा अवरोध मात्रै गर्छ । कमल पोखरीको माटो दलेर वालुवाटार घेर्न जाने कुरा कतै मेल खाँदैन । कमलपोखरीको माटोको भावुकतासँग जोडेर राजनीति गर्ने कार्य सकारात्मक होइन ।’
रानी पोखरी पुनर्निमाणका क्रममा पनि सम्पदाप्रेमि भन्नेहरूले महानगपालिकालाई वद्नाम गर्न अनावश्यक आरोप लगाउने प्रयास गरेको भन्दै आक्रोस व्यक्त गरे ।
‘रानी पोखरी घुम्न आउनेहरूका लागि त्यहीं छेउमा शौचालय बनाउँछु भन्दा मैले रानी पोखरी बेचेर खायो भन्नेहरूले अहिले त्यहीं शान्तिबाटिकामा रानी पोखरीको बार नै छुने गरी राखिएको शौचालय किन देखेन ?’ उनले प्रश्न गरे, ‘त्यो शौचालय कसले बनायो, कसले राख्न दियो, ठेक्का कसले दियो, त्यहाँको पैसा कहाँ जान्छ ? त्यसको खोजबिन गर्नु पर्ने कि नपर्ने ?’
उनले रानी पोखरी ३ सय ६५ दिन नै खोल्ने आफ्नो योजना रहेको र आफूले त्यो गरिछोड्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गरेका थिए ।
नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला समितिका अध्यक्ष अर्विनमान सिंको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका पदाधिकारीहरू मनोज शाही, रत्न मन, प्रविण महर्जन लगायत केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले पनि बोलका थिए ।
आईतवार, १८ माघ २०७७, ०९ः०० बज
Categorized in सम्पदा/संस्कृति